सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्चीका बाढीपीडितलाई गरिमा भोएज ट्राभल्सले आर्थिक सहयोग गरेको छ। जिल्लाकै रबिन्द्र अर्यालको पहलमा विदेशमा रहेका नेपालीबाट संकलित रकम बाढीपीडित तथा स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्ची तथा हेलम्बुका सयौँ घर परिवार बिस्थापित भएका छन् भने धेरै जनधनको क्षति भएको छ । बाढीबाट मृतक तथा बेपत्ता १७ घरपरिवारमा प्रतिपरिवार २० हजार रुपैया प्रदान गरिएको छ । बागमती प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल तथा भोएजका राजेन्द्र अर्याल मार्फत सहयोग हस्तान्तरण गरिएको हो । त्यस्तै भोएजले मेलम्ची नगरपालिकालाई एक लाख ५० हजार,पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बु गाउँपालिकालाई एक÷एक लाख सहयोग गरिएको छ ।
बाढीबाट क्षतिग्रस्त भई पूननिर्माणको चरणमा रहेको तेर्से विद्यालयलाई ५५ हजार,हेलम्बु समाज युवा क्लब,रातोपुल बचाउ अभियानलाई ५५ हजार सहयोग प्रदान गरिएको छ । मेलम्चीमा बाढी आएको सुचना प्रशारण गर्दैगर्दा आफै बाढीको चपेटामा परेको रेडियो मेलम्चीलाई भोएजले २५ हजार रुपैया सहयोग गरेको छ । बाढी पीडितका लागि २५ थान पाल समेत उपलब्ध गराईएको गरिमा भोएजका रबिन्द्र अर्यालले जानकारी दिए । ‘बाढी पीडितका लागि खाद्यान्न अरु संघसंस्था र सरकारी निकायले उपलब्ध गराएकै छ । बाढी पीडितकै भावनाअनुसार आर्थिक सहयोग उत्तम ठानेर हामीले रकम सहयोग गरेका हौँ’ हाल ईटालीमा रहेका अर्यालले भने । बाढी पीडितलाई प्रत्यक्ष सहयोग वितरणका लागि पुगेका भोएजकै राजेन्द्र अर्यालले बाढी प्रभावित क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै आर्थिक सहयोग गरिएको र आवश्यक मात्रामा आगामी दिनमा सहयोग गर्ने जानकारी दिए ।
हेलम्बुको चनौटेस्थित रातोपुलको अवस्था जीर्ण बन्दै गएको छ । बाढीले निरन्तर हानिरहेको पुल संरक्षण तथा अन्य बाढी पीडितको सहयोमा लागि जुटिरहेका नेकपा माओवादी केन्द्रका नेता समेत रहेका सांसद दुलालले आर्थिक सहयोग हुनु सान्दर्भिक र अति वैज्ञानिक हुने बताए । ‘बाढी आएको भोलिपल्ट देखि नै हामी खटिरहेका छौँ । विभिन्न संघसंस्था तथा सरकारी निकायको नजर परेकै छ । तर यो अवस्थामा प्रदेश सरकार तथा केन्द्र सरकारको भूमिका जति हुनुपर्ने त्यो भएको छैन’ उनले भने ।











Facebook Comments