राष्ट्रपति कार्यालयको विज्ञप्ति किन बन्यो विवादित?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेश अनुसार नियुक्ति गरेको भन्ने राष्ट्रपति कार्यालयको विज्ञप्ति विवादमा परेको छ।

राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्ति गरेकी थिइन्। त्यसपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो।

उक्त विज्ञप्तिमा भनिएको छ- सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ /०३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको छ।

यो विज्ञप्ति विवादमा परेको हो। संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्ति गरेको हुनुपर्नेमा सर्वोच्च अदालतको फैसला बमोजिम नियुक्ति गर्नु अशोभनीय भएको संविधानविद् भीमार्जुन आचार्यले बताए।

त्यस्तै, अधिवक्ता टीकाराम भट्टराईले पनि राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार नियुक्ति भएको भए त्यो असंवैधानिक हुने बताए।