मुम्बई । बलिउड अभिनेता सलमान खान बिरुद्ध उजुरी परेको छ । उनले आफ्नो कम्पनी बीइँग ह्युमनमार्फत आफुलाई धोका दिएको भन्दै भारतको चण्डीगढका एक व्यापारीले उनी बिरुद्ध प्रहरीमा ठगीको उजुरी दिएका छन् । २ करोडको बिगो माग गरिएको छ ।
उजुरीमा अभिनेता सलमान खान, उनको बहिनी अलवीरा खान अग्निहोत्रीसहित ७ जनालाई विपक्षी बनाइएको छ । चण्डीगढका व्यापारी अरुण गुप्ताले आफुलाई अभिनेता सलमान खानले बिइँग ह्युमान कम्पनीको शोरुम खोल्न लगाएको बताएका छन् ।
आफुले २ करोड भारतीय रुपैयाँ खर्च गरेर सो कम्पनीको शो रुम खोलेको उनले जिकिर गरेका छन् । अरुणका अनुसार सलमानले बिग बोसको एक कार्यक्रममा भेट्दा यसरी शोरुम खोलेपछि आफु उद्घाटन गर्न आउने भनेर बचन दिएका थिए । तर आफुले शो रुम खोलेर पटक पटक उद्घाटनका लागि सलमानसँग पहल गर्दा उनले वेवास्ता गरेको उजुरीमा उल्लेख गरेका छन् । सलमान मात्र हैन, उनको सहयोगीले समेत वेवास्ता गर्दा आफ्नो दुई करोडको लागत डुब्ने अबस्था आएको उनले बताएका छन् ।
ती व्यापारीले उजुरीमा सलमान खानसँगको आफ्नो तस्बिर प्रस्तुत गर्दै आफुमाथि ठगी भएको बताएका छन् । पछिल्लो समय सलमानले आफु व्यस्त छु भन्दै उद्घाटनमा आउन नचाहेको ती व्यापारीले उजुरीमा उल्लेख गरेका छन् । आफ्नो लगानी फिर्ता पाउँ भन्दै उनले सलमान बिरुद्धको उजुरीमा लेखेका छन् ।
चण्डीगढ प्रहरीले सलमान बिरुद्ध पुर्जी काटेको छ । सो उजुरीमा हाजिर भएर बयान दिनको लागि सलमानसहित उनको बहिनीलाई पत्र पठाएको प्रहरीले जनाएको छ । बेला बेलामा यस्तो समस्या झेलिरहने अभिनेता सलमान खान यतीबेला आफ्नो कम्पनीको उत्पादनलाई प्रचार र बिक्री गर्ने अभियानमा फसेका छन् । यसबारेमा सलमानले यतीबेलासम्म कुनै प्रतिक्रिया दिएका छैनन ।