रंगशाला प्रवेश गर्न खोज्दा किन रोकिए रोनाल्डो गेटमै?

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सुरक्षागार्डले गेटमै रोकेका छन् । परिचयपत्र नबोकी रंगशाला प्रवेश गर्न खोज्दा उनलाई सुरक्षागार्डले गेटमै रोकेका हुन् । मंगलबार पोर्चुगल र हंगेरीबीच खेल हुँदै थियो ।

पुस्कार एरिना रंशगालाको टनेलमा रहेका सुरक्षागार्डले पोर्चुगलका कप्तान रोनाल्डोसँग युरोकप आयोजकले प्रदान गरेको आधिकारिक परिचयपत्र मागे । तर, उनी परिचयपत्र बिर्सेर रंगशाला पुगेका थिए ।

सुरक्षागार्डले रोनाल्डोलाई एक्कासि गेटमै रोक्दा त्यहाँ खैलाबैला नै मच्चिएको थियो । उनी पनि अन्य खेलाडीसँगै रंगशालाभित्र प्रवेश गरिरहेका थिए । सुरक्षागार्डले एक/एक गर्दै परिचयपत्र हेरेर खेलाडी र अफिसियललाई भित्र प्रवेश गराइरहेका थिए ।

यसैक्रममा सुरक्षागार्डले रोनाल्डोसँग युरोकप आयोजकले प्रदान गरेको आधिकारिक परिचयपत्र मागेका थिए । तर, उनीसँग गेटपास मात्रै थियो । गेटपास बोकेका रोनाल्डोले युरोकपको आधिकारिक आइडी कार्ड भने घाँटीमा झुन्ड्याउनै बिर्सेका रहेछन् ।

मास्क लगाएका भए पनि सुरक्षागार्डले रोनाल्डोलाई चिने । नजिकै रहेका अन्य खेलाडी र आयोजकले पनि उनी सुपरस्टार फुटबलर रोनाल्डो भएको भन्दै नरोक्न आग्रह गरे । तर, जति नै स्टार खेलाडी भए पनि नियम-कानुन सबैका लागि एकै हुन्छ भन्दै ती सुरक्षागार्डले उनलाई अघि बढ्न दिएनन् ।

उनले आधिकारिक परिचयपत्रविना रोनाल्डोलाई रंगशालामा प्रवेश गराउन नसक्ने निर्णय सुनाए । पछि सहकर्मीहरूले आधिकारिक परिचयपत्र ल्याइदिएपछि मात्रै रोनाल्डोेले रंगशालामा प्रवेश पाए । त्यतिन्जेलसम्म उनी गेटबाहिरै बसिरहे।

हंगेरीविरुद्धको सो खेलमा पोर्चुगल ३-० ले विजयी भएको थियो । पोर्चुगलको जितमा गुरेरोले एक गोल तथा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी दुई गरे । खेलको ८४ मिनेटमा पोर्चुगलका राफा सिल्भाको प्रहार डिफ्लेक्ट भएर गुरेरोको खुट्टामा पुगेको थियो । जसमा गुरेरोले हानेको प्रहारले गोल पोस्टको दिशा लियो ।

खेलको ८७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गरे। हंगेरीका ओर्बानले राफा सिल्भालाई फल गरेपछि पेनाल्टी दिइएको थियो । प्राप्त अवसरमा रोनाल्डो चुकेनन् । रोनाल्डोले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।

Facebook Comments