काठमाडौं । नेपालका निजी कम्पनीले चीनबाट खरिद गरेर ल्याएको अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न नै नमिल्ने समस्या पाइएको छ। व्यवसायीले ल्याएका सिलिन्डरको नोजलमा नमिल्दा अक्सिजन भर्न नमिल्ने समस्या देखिएको छ।
लुम्बिनी अक्सिजन प्रालिमा अक्सिजन भर्न ल्याइएका ९० वटा अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न नमिलेको संचालक रमेश खनालले जानकारी दिए।
गुल्मीमा अक्सिजन पठाउने भनेर चीनबाट ल्याइएको सिलिण्डरमा अक्सिजन भर्न खोज्दा नोजल (सिलिण्डरको टुटी) मा समस्या देखिएको हो। अक्सिजन प्लान्टमा ती नोजलबाट अक्सिजन भर्न नमिलेपछि सिलिण्डर अहिले थन्काइएको छ।
सिलिण्डरको नोजल नमिलेकाले अक्सिजन भर्न नमिलेको खनालले जानकारी दिए।
उनका अनुसार नोजल नमिलेपछि भारतबाट नयाँ नोजल ल्याएर अक्सिजन भर्ने तयारी भएको छ।
‘चीनबाट व्यवसायीले ल्याएको सिलिण्डरमा नोजलमा समस्या भएर अक्सिजन भर्न मिलेन,’ उनले भने, ‘उहाँहरुले नोजल फेर्नुस् भनेर पैसा हाल्दिनु भएको छ। हामीले भारतबाट नोजल ल्याउन लागेका छौं।’
खनालका अनुसार व्यवसायीले ल्याएका सिलिण्डरमा कार्वनडाइअक्साइड भर्न मिल्ने नोजल भएको भेटिएको हो ।
कार्वनडाइअक्साइड र अक्सिजन भर्ने नोजल फरक हुने भएकाले ती खाली सिलिण्डरमा नोजल परिवर्तन नगरेसम्म अक्सिजन भर्न नमिल्ने खनालले जानकारी दिए।
नोजल नमिलेको सिलिण्डरमा भारतबाट नयाँ नोजल ल्याएर फेरे पनि उक्त सिलिण्डरमा अक्सिजन भर्न समस्या हुने र अस्पतालका रेगुलेटरमा राख्न पनि थप समस्या हुने बताइएको छ।
टेकु अस्पतालमा व्यवसायीले सहयोग स्वरुप दिएका सिलिण्डरमा पनि नोजल फेर्नुपर्ने समस्या देखिएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले बताए।
‘अहिले तत्काल आवश्यक नभएकाले ती सिलिण्डर स्टकमै छन्,’ उनले भने, ‘तर प्रयोगमा ल्याउनका लागि भने नोजल फेर्नुपर्ने हुन्छ।’