काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन सदर नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा आयोजित आफूपक्षीय नेकपाले आयोजना गरेको आमसभामा बोल्दै ओलीले त्यस्तो चेतावनी दिएका हु्न् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले कसैका दबाबमा विघटन बदर गर्ने फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए ।
उनले भने, ‘चुनाव हुन्छ नै, त्यसकारण तपाईंहरु आत्मविश्वासका साथ अघि बढ्नुस् , यदि कहिँ कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिक्डम सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने त्यसका विरुद्ध फेरि पनि हाम्रो आन्दोलन अघि बढ्छ । त्यस्ता शक्तिहरुलाई पराजित गर्छौँ । ’ ओलीले यस्तो अभिव्यक्ति दिएपछि जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ओलीको कडा आलोचना गरेका छन् । उनले ओलीलाई पदमा बसिरहन नैतिक अधिकार नरहेको समेत बताएका छन् ।
‘देशको प्रमले नै ‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ?’ शनिबार राति भट्टराईले गरेको ट्वीटमा भनेका छन्, ‘यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिङ गर्ने हो ?अदालतमाथिको दबाब पुष्टि भएन र ?’
सभामा ओलीले सर्वोच्च अदालतले दवावमा कुनै अन्यथा निर्णय लिन्छ जस्तो आफूलाई नलागेको पनि बताए । सर्वोच्च अदालतले पनि देशमा भइरहेको विभिन्न सभालाई हेर्दै होला भन्दै उनले महाधिवेशनबाट आएको अध्यक्षलाई हटाएर ‘मलाई अध्यक्ष चाहियो’ भनेर नपाइने बताए ।
प्रचण्ड–माधव समूहले आफ्नो पक्षमा कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको दावी समेत उनले गरे । उनले कोही पनि भ्रममा पर्न जरुरी नरहेको भन्दै मुल पार्टी आफू अध्यक्ष रहेको नेकपा नै रहेको दावी गरे । सभालाई सम्बोधन गर्दै उनले पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ का प्रदेशसभा सदस्य उषाकला राई मुल घरमा फर्किएको बताए ।
यसैगरी सभामुख अग्नि सापकोटाले किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै उपराष्ट्रपनि नन्दबहादुर पुनले पनि राजनीतिक भाषण गर्दै हिँडेको आरोप लगाए । उनले प्रतिनिधिसभामा ६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले संसद विघटन गरेको बताउँदै बाध्य भएर ताजा जनादेशमा जानुपरेको बताए । उनले कसैले अध्यक्ष दिँदैमा भइनहाल्ने भन्दै माधव नेपाललाई मख्ख नपर्न चुनौति दिए । ‘निर्वाचन आयोगले भनिसकेको छ कि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा पार्टी हो, अरु अध्यक्षलाई चिन्दिनँ भन्यो ।
तैपनि कोहीकोही अध्यक्ष बनेर हिँडिरहेका छन्’, उनले भने । कहिल्यै सूर्य चिन्हबाट चुनाव नलडेका प्रचण्डले आयोगमा गएर सूर्य चिन्ह आफ्नो हो भनि दावी गर्नु केटीकेटीले पुतलीका लागि झगडा गर्नु जस्तै भएको ओलीले टिप्पणी गरे ।
ओलीले नेपालमा कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको पनि दावी गरे । उनले सभामा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना पनि गरे ।
उनले प्रचण्डले विगतमा वैद्य र डाक्टरलाई साथ लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै कटाक्ष गरे । विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा बाबुराम भट्टराई रहेका थिए भने उनीहरुहले प्रचण्डको साथ छाडेर बाटो लागेको सन्दर्भमा अहिले रामकुमारी झाँक्रीहरुलाई लिएर अघि बढेको ओलीको कटाक्ष थियो ।
उनले भने, ‘उहाँ (प्रचण्ड) लाई वैद्यले छाडे, त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ । अब झाँक्रीले बचाउन सक्नु हुन्न उहाँलाई, नेपालको राजनीतिमा बचाउन सम्भव छैन, सिध्धिसकेको प्रचण्डलाई मैले ठूलो राखिदिएको थिएँ तर उहाँमा अंहाकार चढेको छ ।’
उनले जनसहभागिता कस्तो हुन्छ भन्ने जान्न विराटनगरको सभा हेर्न पनि प्रचण्ड नेपाल समूहलाई चुनौति दिए ।












Facebook Comments