निर्माणाधिन बाईस तल्ले नयाँ धरहराले उचाई लिनेक्रम अन्तिम चरणमा पुगेको छ । एक्काईस तल्लाको ढलान समेत पुरा भएर बाईसौं तल्लाको लागि काम सुरु भएको हो ।
धरहराको भित्र दुईवटा लिफ्ट रहनेछन् । त्यसमध्ये एउटा लिफ्ट सञ्चालनमा ल्याएर भएपनि धरहरा टावरले उचाई लिईसकेपछि यहि चैत पहिलो हप्तासम्म उद्घाटन गर्नेगरी काम अघि बढेको छ । केहि दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा निर्माणको अवलोकन गरे । सोक्रममा ओलीले धरहरा निर्माणको पछिल्लो अवस्थाबारे चासो लिएका थिए ।
बाईसौं तल्लामाथी गजुर राखिनेछ । गजुर झण्डै २५ फिटको हुने धरहरा निर्माण गरिरहेको रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई. श्यामचन्द्र श्रेष्ठले बताए । ‘गजुर बनाउन पनि हामीले मान्छे लगाईसकेका छौँ । पुरानो गजुरलाई केहि परिवर्तन गरेर नयाँ गजुर तयार गरिनेछ’ श्रेष्ठले भने ।
नयाँ धरहराको बिसौं तल्लामा अवलोकन गर्ने डेक छ । जहाँबाट अवलोकनकर्ताको काठमाण्डौं उपत्यका अवलोकन गर्नेछन् । ‘बिसौं तल्लामा अवलोकन गर्ने डेक छ । त्यो डेक २.७ मिटरजति छ’ प्रोजेक्ट म्यानेजर श्रेष्ठले भने । फागुनको अन्तिम सातासम्म गजुर राखेर धरहरा टावरको उचाईको निर्माण सक्ने लक्ष्य रहेको उनले बताए ।
धरहरा टावरको निर्माण केहि समयभित्रै सम्पन्न हुने भएपनि धरहरा परिसरभित्र संग्राहलय, अण्डरग्राउण्ड पार्किङ लगायतका अन्य थुप्रै संरचना बन्दैछन् । सबै संरचनाको निर्माण सम्पन्न हुन भने समय लाग्ने निर्माण कम्पनीले जनाएको छ ।
२०७२ को भूकम्पले क्षतिग्रस्त बनेको पुरानो धरहराकै छेउमा नयाँ धरहरा निर्माण गरिएको हो ।











Facebook Comments