नेकपा विवाद टुङ्गाे लगाउने जिम्मा ओलीले नियुक्त गरेका निर्वाचन आयुक्तलाई

काठमाडाैं । प्रतिनिधि सभा विघटनसँगै दुई धारमा देखिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीको नाम र चुनाव चिह्नको विवाद छानबिन गर्ने जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् ।

निर्वाचन आयोगले भण्डारीलाई निर्वाचन आयुक्तको शपथ लिएकै दिन अर्थात् गत बुधबार नै जिम्मेवारी दिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए। आयुक्त भण्डारीलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नै नियुक्त गरेका हुन् ।

सूचना अधिकारी अर्यालका अनुसार आयोगमा आयुक्तहरुको जिम्मेवारी बाँडफाँट भएको छ । जिम्मेवारी बाँडफाँटका क्रममा राजनीतिक दलको विवाद निरुपण गर्ने राजनीतिक दल नियमन र अभिलेख व्यवस्थापन शाखाकाे जिम्मेवारी भण्डारीलाई दिइएकाे हाे ।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेकपा विभाजित अवस्थामा छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले ओलीलाई कारबाही गर्दै अध्यक्षबाट हटाई आफू नै नेकपाको आधिकारिक पार्टी भएको दाबी गर्दै चुनाव चिह्न र नेकपा नाम आफैँले पाउनुपर्ने मागसहित आयोगमा निवेदन दिएको छ।

उता ओली पक्षले पनि आधिकारिक पार्टी आफैँ भएको दाबी गरिरहेको छ। नेकपाको विवाद चुलिएको बेलामा प्रधानमन्त्री ओलीले नियुक्त गरेका भण्डारीलाई दल विभाजनको निरुपण गर्ने जिम्मेवारी दिइएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.