भारतले नेपाललाई अनुदान दिएको कोरोनाविरुद्धको खोपले संक्रमण पनि रोक्‍छ : अध्ययन

नयाँ दिल्ली । भारतले नेपाललाई अनुदानमा दिएको कोभिशिल्ड खोपले संक्रमण हुनबाट पनि बचाउने जनाइएको छ । भारतले नेपालमा १० लाख डोज कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएको छ । उक्त खोप अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्युटमा उत्पादन गरिएको हो ।

पछिल्लो अध्ययनमा हाल नेपाल लगायत अन्य देशहरूमा प्रयोग भइराखेको अक्सफोर्ड एस्ट्राजेनेका खोपले कोभिडको गम्भीर बिमारीमात्र नभइ संक्रमण पनि रोक्ने देखिएको छ । उक्त खोपको प्रयोगले कोरोना भाइरसको संक्रमणमा उल्लेखनीय गिरावट आउनसक्ने वैज्ञानिकहरूले बताएका छन् ।

महामारीको भविष्यबारे धेरै विषय अज्ञात रहेका बेला उक्त खोपले संक्रमणमा समेत असर पारेको देखिएपछि यसले अब महामारीलाई नियन्त्रण गर्न सघाउन पुग्ने विश्वास गरिएको छ । संक्रमण रोक्न सफल हुनु निकै महत्त्वपूर्ण मानिन्छ । यदि खोपले केवल गम्भीर रोगबाट मात्र जोगाउँछ तर खोप लगाएका व्यक्तिले अझै भाइरस अरूलाई सारिरहन सक्छन् भने सबैजनाले खोप नलगाएसम्म पूर्ण सुरक्षा प्राप्त हुँदैन ।

तर यदि खोप लगाएपछि उक्त व्यक्तिले भाइरस सार्न पनि सक्दैन भने त्यसले अप्रत्यक्ष रूपमा खोप नलगाएका व्यक्तिहरू पनि सुरक्षित हुन पुग्छन्। यसो हुँदा महामारी नियन्त्रणमा ठूलो सफलता प्राप्त हुनसक्छ।

अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनमा सहभागीहरूलाई हरेक हप्ता भाइरस रहे नरहेकोबारे परीक्षण गरिएको थियो । सो अध्ययनमा खोपको दुई मात्रा प्राप्त गरेका व्यक्तिहरूमा परीक्षणमा भाइरस देखिने आँकडा आधाले घटेको पाइयो।

‘यो आँकडाले के देखाउँछ भने खोपले संक्रमणलाई घटाउन पनि उल्लेखनीय प्रभाव पारिरहेको छ,’ अध्ययनमा उल्लेख छ।साथै उक्त खोपको एकै मात्राको प्रयोगले पनि मानिसहरूलाई कोभिडबाट राम्रो सुरक्षा प्रदान गरेको हालसम्म अप्रकाशित उक्त अध्ययनमा देखिएको छ । पहिलो मात्रा लिइसकेपछिको तीन महिनासम्म पनि उक्त खोप ७६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ ।

बेलायतले सकेसम्म धेरै मानिसलाई चाँडो खोप लगाउन भन्दै पहिलो मात्रा लगाइहाल्ने कार्यलाई प्राथमिकता दिएको थियो। यसले धेरै मानिसलाई केही सुरक्षा दिएर ज्यान जोगाउँछ भन्ने ठानिएको थियो तर यसो गर्दा खोपको दोस्रो मात्रा प्राप्त गर्न मानिसहरूले तीन महिनासम्म कुर्नुपरेको छ।

यो अध्ययनमा यूके, दक्षिण अफ्रिका तथा ब्राजिलका १७ हजार मानिस सामेल थिए । अध्ययनमा एकै मात्राले पनि सो तीन महिनाको अवधिसम्म ७६ प्रतिशत सुरक्षा प्रदान गरेको पाइयो। दुई मात्रा लिनेहरूको हकमा सुरक्षा प्रभावकारीता ८२ प्रतिशत रह्यो ।

अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्राध्यापक एन्ड्र्यु पोलार्ड भन्छन्, ‘यस (आँकडा)ले सरकारको एकै मात्रा पहिले धेरैलाई दिने नीतिको समर्थन गरेको छ।’ यसबीच फ्रान्सले भने अक्सफोर्ड खोपलाई ६५ वर्षभन्दा माथिका उमेरका व्यक्तिमा नलगाउने निर्णय गरेको छ । बढी उमेरका व्यक्तिमा खोपको प्रभावकारीताबारे पर्याप्त आँकडा उपलब्ध नभएको भन्दै उसले सो निर्णय गरेको जनाइएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.