भिसामा मनपरी निर्णय

काठमाडौं । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिसा)को म्याद गुज्रिएका विदेशी नागरिकलाई फिर्ता नपठाई फेरि अर्को वर्ष (२०२१)का लागि भिसा दिने विवादास्पद निर्णय गरेको छ। पर्यटक भिसामा १ सय ५० दिन बसिसकेका विदेशीलाई नेपाल बसिरहेकै अवस्थामा पुनः पर्यटक भिसा दिन मिल्दैन।

अध्यागमन नियमावलीको नियम ६ (२)मा ‘पर्यटक भिसा एक भिसा वर्षमा बढीमा पाँच महिनाका लागि दिइनेछ’ भन्ने स्पष्ट प्रावधान छ। तर, गृहले उक्त नियमावलीविपरीत भिसा नियमित गरेर अर्को वर्षका लागि पनि भिसा दिने निर्णय गरेको हो। मंसिर २३ को गृहमन्त्रीस्तरीय उक्त निर्णय अध्यागमन नियमावलीविरुद्ध छ।

अन्तर्राष्ट्रिय उडान भइरहेका मुलुकका नागरिकलाई फिर्ता नपठाई अर्को वर्षका लागि पनि भिसा दिने गृहको निर्णय आश्चर्यजनक छ। अन्तर्राष्ट्रिय उडान भइसकेका चीनलगायत अन्य मुलुकको नागरिकका हकमा गृहको उक्त निर्णय सान्दर्भिक छैन।

गृहले त्यस्ता विदेशीलाई निष्कासन गर्नुको सट्टा कोरोना भाइरसको जोखिम देखाउँदै आवश्यक अध्ययन, अनुसन्धानबिनै भिसा नियमित गर्ने विवादास्पद निर्णय गरेको हो।

गृह र अध्यागमनका अधिकारीले उनीहरू आफैं सम्मिलित भएर गरेको निर्णयबारे चित्तबुझ्दो जवाफ दिएनन्। गृहका प्रवक्ता चक्रबहादुर बुढा र अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले कोरोना भाइरसको जोखिमका कारण ओभरस्टे भएकाहरूको भिसा नियमित गर्ने र उनीहरूलाई अर्को भिसा वर्षमा पनि पर्यटक भिसा जारी गर्ने निर्णय भएको प्रतिक्रिया दिए।

‘पर्यटन व्यवसायीलगायत सरोकारवालाको सिफारिसमा निर्णय गरिएको हो’, महानिर्देशक केसीले अन्नपूर्ण पोस्ट्सँग भने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.