धान मासेर लगाएको किबीले मालामाल

काठमाडौं । स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाईं, गोडाई र उठाउने बेला लाग्ने खेतालाको खर्च समेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो ।

उनले परम्परागत खेती नै गर्दै आएका थिए । झण्डै पाँच रोपनी जमीन जोत्न दुई दिन लाग्थ्यो । पछि उनले छोरा महेन्द्रको आग्रहमा घर छेउको त्यस पाखो खेतमा किबी खेती गर्न थालेपछि भने मनग्गे आमदानी गर्न सकेका छन् ।

वर्षमा एक बाली धान खेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किबीले लटरम्म फल दिएको छ । हिजो धान फल्ने खेतमा किबी लगाउँ भन्दा छोराको आग्रह मान्न हिच्किचाएका भोलानाथ अहिले खेतबाटै धमाधम बिकी बिक्री गरेर पैसा लिन थालेपछि खुशीले गद्गद बनेका छन् ।

पैंयुपाटामा महेन्द्रले तीन वर्ष पहिले करिब पाँच लाख खर्चेर ८० बिरुवा भाले पोथी लगाएका छन् । बजारीकरणको समस्या नहोस भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ नाम दिएको कम्पनी छ । “अहिले झण्डै पाँच क्विन्टल फलेको छ”, महेन्द्र भन्छन्, “६०-६२ बिरुवा मात्रै फल्दा त एकै बर्षमा लगानी उठ्ने देखियो ।” खेतबाटै प्रति किलो ४०० रुपैयाँमा बिक्री भएको भोलानाथ बताउछन् ।

माटोअनुसारको खेती गर्न नजान्दा खर्च अनुसारको आम्दानी गर्न नसकेको महसुस भोलानाथले गर्न थालेका छन् । “कस्तो राम्रो फलेको, बजार उचित भए त आम्दानी गर्न बिदेश जानु पर्दैन”, उनी भन्छन् । उनको किबी खेतीकालागि कृषि ज्ञान केन्द्र पर्वतले दुई लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो ।

किबीसँगै रिजालले अदुवा, प्याज, लसुन, खुर्सानी, बेसार लगायतका अन्य नगदेबाली समेत लगाएका छन् । झ्याल प्रजातीको किवीको रुखमुखी लगाएको नगदे बालीहरुले समेत घर खर्च चलाउने आम्दानी दिने गरेको रिजालले सुनाए ।रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.