रौतहटका प्रहरी प्रमुखलाई कोरोना संक्रमण

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि सिद्धिविक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएपनि उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनी सेल्फ आइसोलेसनमा बसिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि भरत श्रेष्ठले जानकारी दिए।

रुघाखोकी र ज्वरो आउन थालेपछि स्वाब परीक्षण गराइएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले ज्वरो ठीक भएको प्रवक्ता श्रेष्ठको भनाइ छ।

केही दिनपहिले रौतहटको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहलाई कोरोना संक्रमण पुष्टि भएको थियो। गापा अध्यक्ष साह पनि आइसोलेसनमा छन्।

रौतहटमा पछिल्लो समय कोरोना संक्रमण पुनः विस्तार भएको अनुमान गरिएको छ। गत हप्ता १८९ जनाको स्वाब परीक्षण गरिएकोमा एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

Facebook Comments