नेटवर्किङ मार्फत ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय म्याग्दीले नेटवर्किङ व्यवसाय मार्फत ठग्ने ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्वतका होमनाथ जैसी, सरोज शर्मा र काठमाडौं टोखा घर भएका प्रदिप रिजाल रहेका प्रहरीले जनाएकाे छ ।

भारतीय कम्पनी ‘ओरियन्स ग्लोवल मार्केटिङ’ मार्फत पिरामिड शैलीमा सदस्य विस्तार गरेर ठग्ने ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरले बताए ।

म्याग्दी, पर्वत र बाग्लुङमा उनीहरुले ‘छोटो समयमा राम्रो कमिशन आउँछ’ भन्दै भारतमा उत्पादित फुड सप्लिमेन्ट किन्ने सदस्य बनाएर ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पिरामिड शैलीको नेटवर्किङ मार्फत सो समूहले २० हजार देखी १ लाख १२ हजारसम्म पैसा लिएर सदस्य बनाउने गरेका थिए । डेढ महिनाको अवधिमा उनीहरुले म्याग्दीका १ सय ४१ जनालाई सदस्य बनाएर ठगेको डिएसपी कुँवरले रातोपाटीलाई बताए ।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, ०७४ को परिच्छेद–२ को दफा ११ बमोजिम नेपालमा कसनै पनि प्रकारको पिरामिडमा आधारित व्यवसाय सञ्चालन गर्न पाईंदैन् ।

Facebook Comments