अपहरण मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१२ बस्ने ३८ वर्षीय नरेश मेचे रहेका सिआइबीले जनाएकाे छ। सिआइबीकाे महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२९ गोंगबुस्थित होटेल काठमाडौं ईनबाट उनलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत झापाको २०७३ असार २१ गतेको फैसलाले संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर गरेकाे थियाे ।

झापा बिर्तामोड नगरपालिका-६ बस्ने पुरुषलाई २०७१ माघ १८ गते मेचे समेतका व्यक्तिहरुले हतियार देखाई अपहरण गरी झापा धरमपुरस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा माघ २३ गते प्रहरीले पीडितलाई अपहरणमुक्त गरेको थियो ।

Facebook Comments