अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन्।

भर्चुअल रुपमा आज आयोजना गरिएको प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन्।

उनले भने, “नयाँ चुनौतीलाई सफलतापुर्वक सम्पन्न गर्न र जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ, उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।”

उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए । गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराए ।

सीमानाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाईराख्न समेत उनले निर्देशन दिए । उनले प्रहरी समायोजनबारेको प्रस्ताव पास भईसकेको जानकारी दिँदै अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने विश्वास दिलाए ।

उनले दशैँ तिहारजस्ता चाडपर्व नजिकिएको भन्दै कालोबजारी र महङ्गी नियन्त्रणका लागि नियमित रुपमा बजार अनुगमन र कारवाही गर्न प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिए ।

गृहमन्त्री थापाले चाडपर्व लक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका निकायलाई निर्देशन दिए । कोरोनाका कारण सातै प्रदेशमा लामो समयदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी रोकिएकोमा आज प्रदेश नं १ मा आयोजना भएको हो ।

गोष्ठीलाई प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई, सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतले सम्बोधन गरेका थिए। रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.