कोरोना संक्रमितले लोक सेवा आयोगको परीक्षा दिन नपाउने

काठमाडौं । कोभिड–१९ संक्रमित ब्षक्ति लोक सेवा आयोगको परीक्षामा बस्न नपाउने भएका छन्। आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।

मापदण्डमा परीक्षार्थीमा कोरोना संक्रमण भएको भए परीक्षा केन्द्र प्रवेश गर्न नहुने उल्लेख छ। गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिना सुरु हुँदै छ ।

असोजमा सहसचिव र उपसचिव, कात्तिकमा प्रशासनको शाखा अधिकृत, मसिंरमा प्राविधिकतर्फको शाखा अधिकृत र त्यसपछि क्रमशः नायव सुब्बा तथा खरिदारलगायत पदको विज्ञापन निकाल्ने जनाएको छ ।

आयोगले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै परीक्षा लिने स्पष्ट पारेको छ । त्यसका लागि एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् । एक बेन्चमा एक जना मात्रै बस्ने गरी एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ ।

परीक्षा केन्द्रमा परीक्षार्थी तथा परीक्षामा खटिने जनशक्तिले अनिवार्य रूपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

परीक्षार्थी, केन्द्राध्यक्षलगायत सबैले मास्क अनिवार्य रूपमा लगाउनुपर्नेछ। परीक्षा केन्द्रमा २० थान मास्क र ५०० एमएल सेनिटाइजर र साबुनको व्यवस्था पनि आयोगले गर्दैछ।

Facebook Comments