राजधानी सारिएको हैन, बनाउन खोजिएको हो : मुख्यमन्त्री पोखरेल

काठमाडौं । प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी सार्न लागेको नभै बनाउन लागिएको बताएका छन्।

बुटवल अस्थायी राजधानी तोकिएकाले सार्न खोजेका रुपमा नबुझ्‍न आग्रह गरेका छन्। राजधानी बनाउन बाँकी नै रहेकाले त्यो दाङको भालुवाङमा बनाउन लागिएको उनले बताए।

उनले भने, ‘एउटा चर्चा चल्यो प्रदेश सार्न खोजियो। सार्न होइन बनाउन खोजेको हो। कहाँभन्दा पनि कस्तो बनाउने भन्ने बारे सोचौं। प्रस्तावित ठाउँले साझा मनोविज्ञान निर्माण गर्छ।’

यसको निर्णय आफूले मात्रै नगरेको उनले स्पष्ट पारे। प्रदेश सभाका सांसदहरु मध्येबाटै बनाइएको विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयन गरेको उनले बताएका छन्। दाङ राजधानी बनाउने कुरा उक्त प्रतिवेदनमा पहिलो विकल्पका रुपमा राखिएले त्यसलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

प्रदेससभालाई सम्बोधन गर्दै उनले भने, ‘उक्त समितिले दिएको प्रतिवेदन एकातिर र प्रदेश सरकारले अर्कातिर निर्णय गरेको भए विरोध जायज हुन्थ्यो।’ प्रदेशको राजधानी र नाम तोक्ने विषयमा प्रदेश सभाभित्रका सांसदहरुको विशेष समिति बनाइएको उनले स्मरण गरे।

विशेष समितिले पहिलो विकल्पमा दाङ, दोस्रोमा रुपन्देही र तेस्रो कपिलबस्तु राजधानी तोक्ने प्रतिवेदन दिएको उनले बताए। यसका लागि राप्ति र भेरीका सांसद लुम्बिनी र लुम्बिनीका सांसदलाई राप्ति र भेरीमा पठाइएको उनले बताए। उनले भने, ‘विशेष समिति आफैंले यो प्रतिवेदन दिएको हो। उपयुक्त निष्कर्ष निकालियोस् भन्ने म्यान्डेट पनि दिएको हो। सरकार समितिअनुसार नै चलेको हो।’

उनले सम्बोधनको सुरुवातमा एक आमाले प्रसव वेदना सहनुपरे जस्तै राजधानी तोक्ने प्रक्रिया पनि त्यस्तै रहेको बताए। नयाँ इतिहास निर्माण गर्दा समाजले त्यस्तै प्रसव बेदना सहनुपर्ने उनको भनाइ थियो। नयाँ कामका लागि असहजता हुने बताउँदै त्यसलाई स्वाभाविक रुपमा लिन आग्रह गरे।

प्रदेश सभामा सोमबार भएको तोडफोडका विषयमा आफूले स्थापना गरेको राजनीतिक संस्कार उल्लंघन गरेको रुपमा लिएकाे टिप्पणी गरे। मर्यादाबाट विचलित भएको भन्दै संयम अपनाउन पाेखरेलले आग्रह गरे।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.