काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गते सर्त राखेर विद्यालय खाेल्न दिन भएकाे छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार असोज १ गतेदेखि विद्यालय खुल्ने तर भर्ना मात्रै गर्न पाउने बताए ।
उनका अनुसार कोरोना महामारी नियन्त्रणमा नआएका कारण अहिले नै भौतिक रुपमा कक्षा सञ्चालन गर्न सकिने अबस्था नरहेकाले विद्यार्थी भर्ना मात्रै गर्नुपर्नेछ ।
शिक्षा विभागले पनि दूर शिक्षा प्रणाली या वैकल्पिक माध्यमबाट मात्रै विद्यालयस्तरको पढाइ हुने जानकारी दिएको छ । यसका लागि मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका २०७७ गत साता सार्वजनिक गरेको थियो ।
त्यसमा विद्यार्थीमा प्रविधिको पहुँचका आधारमा ५ वटा माध्यमबाट पढाउन निर्देशन गरिएको छ । रेडियो, टेलिभिजन, कम्प्युटर, इन्टरनेट भए-नभएको आधारमा कक्षा सञ्चालन गर्न भनिएको छ ।
तर दुई तिहाई बालबालिका अझै दूर शिक्षाको पहुँचमा नभएको युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । चैतदेखि बन्द भएका शिक्षण संस्था अझैसम्म खुल्न सकेका छैनन् ।
Facebook Comments