काठमाडौं : कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेका बेला काठमाडौंको सडकमा प्रेस लेखिएका गाडी र मोटरसाइकल बाक्लै भेटिन्छ।
लकडाउनका कारण मिडिया उद्योग धरासायी भएर २ हजारभन्दा धेरै पत्रकार बेरोजगार बनेका बेला सडकमा भने प्रेस लेखिएका ज्याकेट लाउने र परिचयपत्र भिर्नेको संख्या बढिरहेको छ। यस्तो अवस्थामा प्रेस कार्डको दुरुपयोग बढिरहेको आवाज उठिरहेका बेला प्रहरीले सोमबार नक्कली प्रेस पास र ज्याकेट बनाउने बागबजारस्थित एक प्रेसमा छापा मारेको छ।
लकडाउनमा सहज आवागनका लागि भन्दै विभिन्न मिडिया तथा प्रिन्टिङ प्रेसको लोगोसहितको परिचयपत्र तथा प्रेस अंकित ज्याकेटहरु बनाएर विक्री गर्ने गिरोह प्रहरीको फन्दामा परेको हो। पक्राउ परेका तीनजनाको विवरण प्रहरीले खुलाएको छैन। फेसबुकमार्फत सम्पर्क गरेर परिचयपत्र बनाइ होम डेलिभरी गर्दै आएको गिरोहले एउटा प्रेस कार्डको पाँच सयदेखि दुई हजारसम्म लिने गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
सोमबार बागबजार स्थित ‘कालिका डिजाइन’बाट नक्कली प्रेस पास बनाउनेहरु पक्राउ परेका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सभापति शान्तराम बिडारीले जानकारी दिए। प्रेस कार्ड बजारमा किनबेच हुनाले त्यसको दुरुपयोग भइरहेको गुनासो आएको थियो। ती कार्ड गैरपत्रकारहरुले कार र मोटरसाइकलहरु सडकमा निकाल्दा निष्फिक्री प्रयोग गर्ने गरेका थिए।
Facebook Comments