क्षमता भन्दा बढी कैदीबन्दी राखेपछि सुत्न सकस

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दी सकसमा दिनरात गुजार्दै आएका छन् ।क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य भएका हुन् । २५ जना क्षमता रहेको उक्त कारागारमा हाल ७६ थुनुवा र ७१ बन्दी गरी १४७ कैदीबन्दी रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा रातको समयमा सुत्न सकस हुने गरेको कारागारका निमित्त प्रमुख एवं सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताए । गर्मी बढेसँगै ठाउँ साँघुरो हुँदा सुत्ने समयमा खप्टिएर सुत्नुपर्दा कठिनाइ भोग्नुपरेको छ । उनले भने, “क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा सुत्न र शौचालय जाने समयमा समस्या हुने गरेको छ ।”

कार्यालय भवन, सुरक्षा ब्यारेक र महिला बन्दीगृह गरी तीन भवन रु छ करोड ४४ लाखको लागतमा ८० क्षमताको भवन निर्माण गरिएको छ । उक्त बन्दीगृह सुविधासम्पन्न भवन निर्माण गरिए पनि बन्दाबन्दीका कारण उद्घाटन कार्य रोकिन पुगेको छ ।

गत वर्षहरुमा गर्मी बढेपछि कैदीबन्दी धमाधम बिरामी हुने गरे पनि यस वर्ष भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । कोरोना भाइरस कोभिड–१९ बाट सुरक्षित हुन आफन्तजनसँग भेट्ने कार्य रोकिएको र सरसफाइमा ध्यान दिएका कारण पनि उनीहरुको स्वास्थ्य अवस्था ठीक रहेको छ”, उनले भने ।

कारागारमा रहेका कैदीबन्दीमध्ये करिब ७० जनाले व्यावसायिकरूपमा मुढा बुनेर मासिक सातदेखि १० हजारसम्म कमाउने गरेका छन् । तर बन्दाबन्दीका कारण मुढा बुनाइ कार्य रोकिएको उनले बताए । बन्दबन्दीको समयमा जिल्ला अदालतबाट पठाइएका थुनुवालाई नयाँ भवनमा र बन्दीलाई पुरानै कारागारमा राख्ने व्यवस्था गरिएको छ । रासस

Facebook Comments