सराङकोटमा भ्यूटावर निर्माण हुँदै

कास्की । महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरा महानगरपालिका–१८ सराङकोटमा भ्यूटावर निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिले वृहत्तर सराङकोट गुरुयोजनाअन्तर्गत रु दुई करोडमा आधुनिक भ्यूटावर निर्माणकार्य शुरु गरेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित सो स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा समेत विकास गर्ने लक्ष्यसहित समितिले विकासको गुरुयोजना निर्माण गरी विकासका पूर्वाधार निर्माणकार्य अघि बढाएको हो । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले औपचारिकरूपमा भ्यूटावर निर्माणकार्यको शिलान्यास गरेका थिए ।

पोखरा बजारबाट उत्तरपश्चिममा अवस्थित सराङकोट डाँडा सूर्योदय, सूर्यास्त तथा तालतलैया र माछापुच्छ्रे, अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकनका लागि प्रख्यात रहँदै आएकामा आधुनिक भ्यूटावर निर्माण गरी थप पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ । पोखरा भित्रिने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा फेवातालपछि सराङकोट रहने गर्दछ ।

चारतलाको भूकम्प प्रतिरोधात्मक क्षमताको आधुनिक भ्यूटावरको पहिलो चरणको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयो । समितिको नेतृत्वमा वृहत्तर गुरुयोजनाअन्तर्गत भ्यूटावरसहित शिवमन्दिर निर्माण, बहुउद्देश्यीय भवन, ५१ फिटको शिवमूर्ति, १०८ शिवलिङ्ग, १०८ शहस्त्र धारा, विभिन्न देवदेवीको मन्दिर निर्माणकार्य अघि बढाइएको हो ।

विशाल बुद्धमन्दिर तथा बुद्धमूर्ति स्थापना गर्ने, ऐतिहासिक सङ्ग्रहालय, बालउद्यान, पार्क फुटट्र्याक, हेलीप्याड, वनभोजस्थल आदि निर्माण गरिने गुरुयोजनामा समेटिएको छ । अध्यक्ष जिसीले भने, “प्राकृतिकरूपमा महत्वूर्ण सराङकोटलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने गुरुयोजनाअनुसार अहिले काम भइरहेको छ । गुरुयोजनाअन्तर्गतको भ्यूटावर निर्माणले समेत पर्यटन प्रवद्र्धनमा थप योगदान पु¥याउने विश्वास लिएका छौँ ।”

विसं २०६४ देखि समितिले वृहत्तर सराङकोट धार्मिक पर्यटन क्षेत्रका लागि विभिन्न समयमा महायज्ञबाट आर्थिक सङ्कलन, सरकारी, स्थानीयस्तर तथा दातृ निकायबाट विभिन्न निर्माणकार्य गर्दै आए पनि गौतमबुद्धको विशाल मूर्ति स्थापनामा जग्गा प्राप्ति नहुँदा निर्माणकार्य अलपत्र परेको समितिका सदस्य कृष्ण थापाले बताए । बुद्धको विशाल मूर्ति स्थापनाका लागि दानवीर आरडी लामाले रु सात करोड १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको थापाले जानकारी दिए । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.