मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित टिपर दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति शोक व्यक्त गरेका छन् । उनले आज एक शोक वक्तव्य जारी गर्दै ‘कोभिड–१९’ ले निम्त्याएको समस्याका कारण विभिन्न ठाउँबाट घर फर्किने क्रममा आज बिहान लालीघाटको दुर्घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

मुख्यमन्त्री शाहीले दुर्घटनामा निधन हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि एवं शोकसन्तप्त परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । दुर्घटनाको खबर पाउनेबित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खट्ने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सूचना सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुलाई समेत उनले धन्यवाद दिएका छन् ।

हेलिकप्टर लिएर मुख्यमन्त्री घटनास्थलतर्फ

अकल्पनीय र पीडादायी दुर्घटनामा घाइतेहरुको शीघ्र उद्धार तथा उपचारका लागि हेलिकप्टर लिएर मुख्यमन्त्री शाही २ः४० बजे घटनास्थलतर्फ लागेका छन् । घाइतेको तत्काल उद्धार तथा उपचारका लागि मुख्यमन्त्री शाही, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्त हेलिकप्टर लिएर कालीकोट जानुभएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर बुधबार बिहान कर्णाली नदीमा खसेर दुर्घटना भएको थियो । टिपरमा ३९ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.