चार पालिकाको एउटा आइसोलेसन केन्द्र

नारायणपुर । दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिककाले संयुक्त रुपमा एक सय शैयाको कोरोना विशेष आइसोलेसन केन्द्र सञ्चालनका लागि निर्माण शुरु गरेका छन् । राप्ती, गढवा, राजपुर र लमही नगरपालिकाले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा विशेष आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएका हुन् ।

आइसोलेसनका लागि पालिकाहरुले कर्मचारी परिचालनसँगै आर्थिक कोष पनि संयुक्त रुपमा स्थापना गरेका छन् । प्रत्येक पालिकाले कोषमा रु १५ लाख जम्मा गर्ने भएका छन् । केन्द्र सञ्चालनका लागि राप्तीका अध्यक्ष नुमानन्द सुवेदीका अध्यक्षतामा समितिसमेत गठन गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

“दाङमा कोरोना संक्रमण बढ्दै जानु र बिरामी राख्ने स्थानको अभाव हुन थालेपछि जिल्लाकै पायक पर्ने र तत्काल ठूला अस्पतालमा बिरामी लैजान सहज होस् भनेर राप्ती प्राविधिक शिक्षालयमा सय बेडको आइसोलेशन कक्ष स्थापना कार्य शुरु गरिएको हो”, प्रवक्ता चौधरीले भने ।

देउखुरी क्षेत्रका प्रदेशसभा सदस्य र चार वटै पालिकाका प्रमुख तथा अध्यक्षको सहभागिता रहेको आइतबारको बैठकले कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्र मौरीघाटको व्यवस्थापन तथा सञ्चालनमा पालिकाले खेल्ने भूमिकासमेत निर्धारण गरिएको छ ।

देउखुरी आइसोलेसन केन्द्रका लागि आर्थिक, प्राविधिक, मानवीय पक्ष तथा सुरक्षागत कुरामा सबैको सहभागितासमेत निर्धारण गरी यही जेठ २७ गतेसम्म पूर्ण रुपले आइसोलेसन केन्द्र स्थापना गरिसक्ने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।

नेपाली सेनाको सुरक्षा र व्यवस्थापन, दुई फिजिसियन, चारै पालिकाकाबाट आठ चिकित्सक, आठ नर्स, चार ल्याब टेक्निसियन र आठ कार्यालय सहयोगीसहितको प्रारम्भिक व्यवस्थापनमा कोरोना विशेष देउखुरी आइसोलेसन केन्द्र शुरु गरिने छ ।

साथै थप स्वास्थ्योपचारका लागि प्रदेश र केन्द्र सरकारबाट समेत समन्वय हुने गरी तयारी गरिएको प्रवक्ता चौधरीले बताए । जिल्लामा संक्रमित बढ्दै गएको र उनीहरुलाई राख्न आइसोलेसन वार्डको कमी भएकाले चार पालिका मिलेर बनाउन थालिएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए।

“एउटा मात्रै पालिकाले धेरै ठूलो आइसोलेसन वार्ड बनाउन नसक्ने भएकाले चार वटा पालिका मिलेर एक सय वार्डको बनाउन लागेका हौँ”, केसीले भने। रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.