हिउँले घाँस पुरियो, चौपाया भोकै

सुर्खेत : लगातारको हिमपातले घाँस पुरिँदा हुम्लाको हिमालपारीको गाउँ लिमीमा चौरीसहित पशु–चौपाया समस्यामा परेका छन्।

लिमी उपत्यकामा रहेका एक हजारबढी चौरी र त्यतिनै संख्यामा रहेका अन्य चौपाया भोकै रहेको स्थानीय फुन्जोक तामाङले बताए। ‘हिउँले घाँस पुरिएको छ,’ उनले भने, ‘गोठमा चौरी र अन्य चौपाया भोकभोकै छन्।’ तामाङले आफूले पालेका आठ चौरीसहित ३५ चौपाया तीन दिनदेखि भोकै रहेको बताए। ‘गाउँमा सबैभन्दा कम चौपाया मेरै छन्,’ उनले भने, ‘धेरै चौपाया हुनेहरुलाई झन कस्तो समस्या परेको होला।’

लिमी क्षेत्रका तिल, हाल्जी र जाङ गाउँमा एक सय ५० को हाराहारीमा घरहरु छन्। उनीहरुले एक हजार बढी चौरी पालेका छन्। यस्तै जुमा, झोपा, घोडा र लुलुगाई यहाँका स्थानीयले पाल्ने गर्छन्। कात्तिके वर्षा भएका कारण स्थानीयहरुले जंगलबाट घाँस संकलन गर्न पाएनन्। ‘कात्तिकमै हिउँ परेर जंगल ढाकिएकाले घाँस भित्र्याउन पाएनौं,’ उनले भने, ‘अहिले पूरै गाउँनै हिउँले ढाकिएको छ, गोठमा पशु–चौपाया भोकभोकै छन्।’ उनले हिउँ पर्नेक्रम नरोकिएकाले भोकभोकै चौपाया पर्ने हुन् कि भन्ने चिन्ता रहेको बताए।

नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष माल्जोर तामाङले चाँडै हिउँ पर्दा कृषकले घाँसको जोहो गर्न नपाएको बताए। ‘अघिल्ला वर्षहरुमा हिउँ ढिलो पर्दथ्यो, कृषकहरु मंसिरको अन्तिमसम्म घाँसको जोडो गर्थे,’ उनले भने, ‘यो वर्ष कात्तिकमै हिउँ पर्‍यो, कसैले पनि घाँस भित्र्याउन पाएनन्।’

उनले अहिले हिउँले घाँस ढाकिएकाले पशुभाउको पेट भर्न नसकिएको बताए। हाल्जीका कोल्ताव तामाङले लगातारको हिमपातका कारण पशु व्यवसाय संकटमा परेको बताए। उनले हिउँले घाँस पुरिएपछि मानिसका लागि साँचिएको मैदा र चामलको खोले खोले बनाएर पशुभाउलाई खुवाउने गरिएको बताए। ‘मानिसका लागि जम्मा गरिएको अन्न अहिले पशुलाई खुवाइरहेका छौं,’ उनले भने, ‘केही दिन अझै हिउँ परिरह्यो भने भोकभोकै चौहपाया पर्नुपर्ने अवस्था आउँछ।’ लिमीमा अन्न कम उत्पादन हुन्छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.