संवैधानिक नियुक्ति समावेशी बनाउन प्रधानमन्त्रीलाई छलफलमा बोलाउने संसदीय समितिको निर्णय

काठमाडौं- संसदीय सुनुवाइ समितिले सुनुवाइमार्फत् हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदुत नियुक्तिलाई समावेशी तथा समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको हो।

त्यसका लागि समितिका सभापति लक्ष्मणलाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर समितिको अर्को बैठक बोलाउन जिम्मेवारी दिइएको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

समितिले यसअघि पनि संवैधानिक निकायमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउन सरकारलाई निर्देशन दिएको थियो। तर त्यसको कार्यान्वयन नभएपछि सो विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने निष्कर्षमा समितिमा पुगेको उनले बताए।

‘आज बसेको बैठक विशेषगरी सरकारको तर्फबाट प्रस्ताव गरिने राजनीतिक नियुक्ति, संवैधानिक नियुक्ति जो संसदीय सुनुवाइ अनिवार्य गरिएको हुन्छ, संविधानले पनि। तिनीहरुको नियुक्ति गर्दा समावेशी र समानुपातिक हिसाबले सबै वर्ग, तहका वा क्षेत्रका प्रतिनिधित्व भएनन्। त्यसलाई व्यावहारिक हिसाबले पनि मिलाइएन। लामो समयदेखि यो कुरा भनिराखेको। समितिले पनि निर्देशन दिइराखेको अवस्थामा यो कार्यान्वयन हुन नसकेको अवस्थामा सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यले बैठक बसेको हो,’ उनले भने, ‘आजको बैठकमा यही सन्दर्भमा सरकारको पुन: ध्यानाकर्षण गराउने र आगामी बैठकमा प्रधानमन्त्रीज्यूलाई यो सम्बन्धमा छलफल गर्नका लागि आमन्त्रण गर्ने निर्णय भएको छ।’

बैठकमा समितिका सदस्यहरुले संविधानमा संवैधानिक निकाय र राजदूत नियुक्ति समावेशी र समानुपातिक हुने व्यवस्था गरिए पनि सरकारले सोहीअनुसार कार्यान्वयन गर्न नसकेको बताएका थिए।

Facebook Comments