ढिलोगरी कार्यालय पुग्ने ७३२ कर्मचारीलाई कारबाही सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने धेरै कर्मचारी फेला परेका छन्।

चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नगएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ।

यस्तै १५६ कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए। हालै सरुवा भएर जल तथा ऊर्जा आयोगको सचिवालयमा जान लागेका सचिव घिमिरेले चालु आर्थिक वर्षमा केन्द्रले गरेका कामकारबाही तथा अनुगमनको बारेमा जानकारी दिँदै पछिल्लो समय सुशासन कायम गर्न धेरै सुधारात्मक प्रयास गरिएको बताए।

तोकिएअनुसार काम नगर्ने निजामती कर्मचारीलाई निजामती सेवा ऐन २०४९, स्वास्थ्य सेवाका कर्मचारीलाई स्वास्थ्य सेवा ऐन २०५३ र करार सेवाका कर्मचारीलाई सेवा करार सम्झौताबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाएको घिमिरेले जानकारी दिए।

गत आर्थिक वर्षबाट ल्याइएको २५० र चालु आर्थिक वर्षमा परेको २६३ उजुरीमध्ये २२१ अर्थात् ४३ प्रतिशत फछ्र्योट भएको केन्द्रले जनाएको छ। प्राप्त विवरणअनुसार २१ वटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने ४७ उजुरीको विषयमा आवश्यक निर्देशन दिइएको छ। त्यसैगरी १५३ उजुरी तामेलीमा रहेको, ७० उजुरीमा छानबिन समिति गठन भएको र ७३ वटा प्रतिवेदन पेश भएको छ।

हाल करार तथा राजनीतिक नियुक्तिद्वारा सार्वजनिक पद धारण गर्ने व्यक्ति सङ्घीय तहमा ७२ हजार ८००, प्रदेश तहमा ११ हजार ४०० र स्थानीय तहमा दुई लाख २६ हजार छन्।

उनीहरूको सम्पत्ति विवरण बुझाए नबुझाएको बारेमा प्रतिवेदन तयार पारी अख्तियारमा पेश गर्ने योजना रहेको सचिव घिमिरेले जानकारी दिए।

Facebook Comments