बैशाखमा स्थानीय तहको निर्वाचन गर्न देउवा–प्रचण्ड सहमत

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटवार्तामा स्थानीय निर्वाचनका बारेमा कुराकानी भएको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच भएको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचित गर्न दुवै नेता सहमत भएका छन् ।

त्यसका लागि उनीहरुले मंगलबार बिहान नौ बजे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने र समितिको सुझाव अनुसार चुनावको मिति तोक्ने बारेमा समेत उनीहरुबीच छलफल भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘दुई नेताबीच संवैधानिक व्यवस्था अनुसार नै चुनाव गर्ने र त्यसका लागि समन्वय समितिसँग समेत छलफल गरेर सरकारले मिति तोक्नेबारे छलफल भएको छ’, मल्लले भने, ‘त्यसका लागि मंगलबार समितिको बैठक बोलाउने निधो भएको छ । ’

यसअघि माओवादी केन्द्रले स्थानीयसहित तीनै तहको निर्वाचन एकैपटक गर्दा राज्यको सम्पत्ति कम खर्च हुने भन्दै प्रस्ताव अघि बढाएको थियो । तर, उक्त प्रस्तावमा आलोचना बढेपछि संवैधानिक व्यवस्था अनुसार नै निर्वाचन गर्न माओवादी तयार भएको हो ।

Facebook Comments