नारायणहिटी र पशुपति धर्मशालापछि अब हायात होटल छानबिन गर्छु- मन्त्री आले

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अब हायात होटलमाथि छानबिन गर्ने बताएका छन्।

मन्त्री आलेले हायात होटलले स्वामित्वमा लिएको सरकारी जग्गा हिनामिना भएको भन्दै छानबिन हुने बताएका हुन्।

‘अब हायात होटलबारे छानबिन हुन्छ, म कुरा गर्ने होइन, व्यवहारमा काम गरेर देखाउँछु,’ कोभिडका कारण आइसोलेसनमा रहेका मन्त्री आलेले सेतोपाटीसँग भने, ‘यसबारे मैले आन्तरिक रूपमा छानबिन गरिसकेको छु, आइसोलेसनबाट निस्कनेवित्तिकै काम थाल्छु।’

बौद्धमा रहेको हायात होटल परियोजनामा सरकार ठगिएको भन्दै नयाँ सरकार आउनेबित्तिकै चर्चा चल्ने गरेको छ। बौद्धस्थित एक सय ५० रोपनी सरकारी जग्गामा निर्माण भएको होटलमा सरकारी सेयरको हिस्सा निरन्तर घट्दै गएको छ।

सुरूमा सरकारको ३९ प्रतिशत सेयर रहेको हायातको निजी साझेदारले ‘जालझेल गरी’ सरकारको हिस्सा अहिले ९ प्रतिशतमा झारिदिएको आरोप छ।

यसबारे छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि पटक-पटक मन्त्रिपरिषदमा प्रस्ताव लैजाने गरेको थियो।

हायातमा सरकारी सेयरको हिस्सा घट्दै गयो भने केही वर्षभित्रै सरकारी सेयर शून्यमा पुग्ने स्थिति रहेको अधिकारीहरूको बुझाइ छ।

अर्कोतिर अर्बौं मूल्य पर्ने सरकारी जग्गा भने पूर्णरूपमा निजी कम्पनीको हातमा पुग्ने भन्दै यस विषयमा पुनर्विचार गर्नुपर्ने सुझाव आइरहेको छ।

जोरपाटी जाने मूल सडकसँग जोडिएको हायात होटलले भोगचलन गर्दै आएको सरकारी जग्गाको मूल्य उच्च छ।

यही बहुमूल्यवान जग्गा हायात होटललाई उपलब्ध गराएबापत सरकारले पाउने सेयरको बजार मूल्य भने निरन्तर घटिरहेको छ।

मन्त्री आलेले यी सबै प्रकरणबारे छानबिन हुने बताए।

Facebook Comments