सभापति देउवाविरुद्ध संघर्ष गर्ने नेता कोइरालाको चेतावनी

इटहरी: नेपाली काँग्रेसका नेता शेखर कोइरालाले विधि र विधान विपरित हिँडेमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्। उनले सभापति देउवा विधि र विधान विपरित अघि बढेमा संघर्ष गर्नका लागि कार्यकर्तालाई तयारी रहन निर्देशन समेत दिए।

‘पार्टी सभापति शेरबहादुर देउवा विधि र विधान अनुसार अघि बढेमा सहकार्य हुनेछ, त्यसो नभएको खण्डमा संघर्ष हुनेछ,’ सोमबार मोरङ सुन्दरहरैँचाको दुलारीमा आयोजित कार्यक्रममा नेता कोइरालाले भने। उनले १३ औं महाधिवेशनमा नेता देउवाले सभापति जितेर पार्टी चलाए जस्तो अब कुनै पनि हालतमा नहुने जिकिर गरे।

‘१४ औं महाधिवेशनले सबैको स्थान देखाएको छ। हामीले रुपान्तरणसहितको पुस्तान्तरण खोजेका थियौं,’ उनले भने, ‘अब पुरानो पाराले पार्टी चल्दैन, रुपान्तरण हुनैपर्छ।’ नेता कोइरालाले सभापति देउवाले विधि र विधान नमाने महाधिवेशन प्रतिनिधिसमक्ष पुगेर संघर्ष चर्काउन दबाब सृजना गर्ने बताए।

उनले आगामी तीन तहकै निर्वाचनमा नेपाली काँग्रेस एक्लै चुनावी प्रतिस्पर्धा गर्ने पनि दावी गरे। ‘अहिले काँग्रेसका बीचमा गठबन्धन बनाएर चुनाव लड्ने भन्ने एकथरीको विचार भएपनि काँग्रेस एक्लै चुनावमा जानेछ,’ उनले भने, ‘काँग्रेस एक्लै चुनावमा प्रतिस्पर्धा गर्न सभापति देउवासमक्ष दबाब सृजना गर्न आवश्यक छ।’

काँग्रेस एक ढिक्का भएर चुनावमा गए सहजै चुनाव जित्ने जिकिर गरे। ‘काँग्रेस एक ढिक्का भए सबै कम्यूनिष्ट मिलेपनि चुनाव जित्छ,’ उनले दावी गरे।

नेता कोइरालाले अहिले शक्ति पृथकीकरणका तीनवटा पिलर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अस्तव्यस्त भएकाले गर्दा देश गम्भीर संकटमा रहेको बताए। ‘अहिले देश चलेको छैन, यत्रो कोरोना महामारी हुँदा पनि कार्यपालिका अलमलमा छ, अहिलेको सरकार बनेदेखि व्यवस्थापिका संसद अवरुद्ध छ भने न्याय दिने न्यायपालिका अस्तव्यस्त छ,’ उनले भने।

उनले देशमा भयानक ढंगले दण्डहिनता मौलाएको र भ्रष्टाचारले देश गिजोलिएको बताए। ‘ललिता निवासमा भएको भ्रष्टाचार प्रकरणमा सिआईबीले तीन वर्ष लगाएर गरेको अनुसन्धान सरकारको वकिलले तीन घण्टामा फिर्ता गर भन्छन्,’ उनले भने, ‘जसले गर्दा देशमा दण्डहिनता मौलाएको छ। सुशासन छैन, जवाफदेहीता, पारदर्शिता र उत्तरदायित्व छैन।’

व्यवस्थापिका संसद सुचारु नहुँदा ऐन र कानुन पास हुन नसकेको एवम् न्यायपालिकामा प्रधानन्यायाधीससँग न्यायाधीशको बोलचाल समेत नहुँँदा देश गम्भीर संकटमा रहेको उनले बताए। ‘देश गम्भीर संकटमा रहँदा ठूलो पार्टी काँग्रेसको भूमिका प्रभावकारी भएन,’ उनले भने।

Facebook Comments