मन्त्री आलेको यस्तो गैरकानुनी निर्णयको खुलासा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको दबाब र अग्रसरतामा लुम्बिनी क्षेत्रमा रिसोर्ट बनाउन दिने निर्णय भएको छ। काठमाडौंमा पशुपति धर्मशालादेखि नारायणहिटी संग्रहालयसम्मका प्रकरणलाई जोडेर संस्कृतिक धरोहर बचाउने भन्दै हिँडेका मन्त्री आले आफैले अपारदर्शी रुपले लुम्बिनीमा एउटा कम्पनीलाई छिराउन खोजेका छन्।

लुम्बिनी क्षेत्र विकास कोषले संसारा वेलनेस नामक कम्पनीलाई ‘ग्राउन्ड क्याम्पियनिङ’ को नाममा रिसोर्ट चलाउन दिने निर्णय गरेको हो। कोषमा अध्यक्ष पर्यटनमन्त्री हुन्छन्। कोषका अध्यक्षसमेत रहेका आलेको प्रस्तावमा उक्त कम्पनीलाई रिसोर्ट सञ्चालनको अनुमति दिने निर्णय भइसकेको छ।

मंसिर ११ गते बसेको कोषको बैठकले संसारा वेलनेसलाई रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो। संसारा वेलनेस नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको कम्पनी हो। वैद्य यसअघि भिजिट नेपाल कार्यक्रमका संयोजक थिए।

यो प्रकरणमा दुईवटा कमजोरी छन्। पहिलो त लुम्बिनी क्षेत्रको विकासका लागि भनेर तयार भएको गुरूयोजना विपरित काम छ। अर्को त कम्पनी छनौट नै अपारदर्शी छ।

गुरूयोजनामा धार्मिक पर्यटकहरूको सहज आवासका लागि तीनवटा होटल बनाउने उल्लेख गरिएको छ। यो योजनाअनुसार यसअघि नै तीनवटा होटल सञ्चालन भइसकेका छन्। होक्के होटल, होटल कासाइ र श्रीलङ्काको पिलग्रिमेज हाउस अहिले नै सञ्चालनमा आएका छन्।

यसअघि नै सुरज वैद्य कोषको उपाध्यक्ष हुँदा प्रक्रिया अघि बढाएका थिए। तर गुरूयोजना विपरीत हुने भन्दै यसअघिका अध्यक्षहरूले उक्त प्रस्ताव अस्वीकार गरेका थिए। तर असोजमा मन्त्री भएर आएका मन्त्री आलेले वैद्यको प्रस्ताव स्वीकारमात्र गरेनन् अपारदर्शी ढंगले जिम्मा दिने निर्णय गराएका छन्।

विश्वसम्पदा सूचीमा योजना विपरीत रिसोर्ट बनाउने कुरामात्र होइन यो सबै काम अपारदर्शी पनि छ। प्रक्रियामा कतै पनि प्रतिस्पर्धा गराइएको छैन। कम्पनीको नामै किटेर विस्तृत विवरण माग्ने निर्णय भएको कोषका सदस्य सचिव सानुराजा शाक्यसमेत स्वीकार्छन्।

यहाँ खुला प्रतिस्पर्धाको मात्र होइन सुरज वैद्य आफै उपाध्यक्ष हुँदा यो परियोजनाको डिजाइन गरेका थिए। अहिले उनकै कम्पनीलाई दिने निर्णय गरिएको छ।

लुम्बिनीमा गुरूयोजना विपरीत रिसोर्ट सञ्चालन हुन लागेको हो? भनेर हामीले कोषका सदस्यसचिव शाक्यसँग प्रश्न गरेका थियौँ। हाम्रो प्रश्नमा शाक्यले रिसोर्ट होइन गुरू योजनाअनुसार नै ‘ग्राउन्ड क्याम्पियनिङ’ को अनुमति दिन लागिएको बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.