पर्यटन बोर्डका सीईओ सुन तस्करीमा दोषी भएको खुलासा

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले सुनको अवैध कारोबार गरेको पाइएको छ ।

गत २३ कात्तिकमा बेलायतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई हातपात गरेको आरोप सीईओ रेग्मीमाथि लागेको थियो । त्यही आरोपमा छानबिन गर्ने क्रममा उनी निलम्बनमा परेका थिए ।

तर उनलाई निलम्बन नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि उनका थप कमजोरी र आरोपमाथि मन्त्रालयले छानबिन गर्न थालेको छ । यस क्रममा रेग्मीले सुनको चोरी पैठारीमा संरग रहेको पाइएको हो ।

मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा गत २९ पुसमा विगतमा अवैध सुनको कारोबार भएको भन्ने सूचना आएकोले खुलाउन भन्दै पत्र पठाएको थियो ।

त्यसको अर्को दिन विमानस्थल कार्यालयले मन्त्रालयमा जवाफ फर्काएको छ । उनले २०७४ सालमा कतार एयरको जहाजबाट नेपाल फर्कने क्रममा विष्कुट आकारको तीन थान सुन (३०) ग्राम ल्याएको भन्सार कार्यालयले उल्लेख गरेको छ ।

भन्सार ऐनअनुसार सुन चोरी पैठारी गरी ल्याएकोमा जफत गरिएको उल्लेख गरिएको छ । साथै १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ पनि विगो तिराइएको उल्लेख गरिएको छ ।

‘सम्बन्धित दिन तोकेर के भएको हो जानकारी पाउँ भनेर हामीलाई पत्र आएको थियो हामीले फाइल पल्टाउँदा त्यसदिन ३० ग्राम सुन अवैध रुपमा ल्याएको पाइयो र सुन चोरी तस्करीमा जफत तथा विगो रकम तिर्नुपर्ने आदेश सुनाएको पनि पाइयो । त्यही व्यहोरा जानकारी गराइएको हो,’ भन्सार कार्यालयका एक अधिकारीले भने ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने उनीविरुद्ध थुप्रै उजुरी परेको भन्दै त्यसउपर छानबिन गरिएको जानकारी गराएको छ । ‘उनीविरुद्ध धेरै गुनासो आइरहेका छन् । कसैले आरोप लगायो भन्दैमा मन्त्रालयले कदम चाल्ने होइन प्रमाणित गर्नको लागि तत्तत् निकायमा सोधिएको हो,’ मन्त्रालयका एक अधिकारीले भने ।

Facebook Comments