भारत : भारतका वरिष्ठ गायिका लता मंगेशकरको उपचार अझै पनि आईसीयूमा भइरहेको छ । समाचार एजेन्सी पीटीआईले आइतबार एक डाक्टरलाई उद्धृत गर्दै मंगेशकरको उपचारबारे जानकारी दिएको हो ।
९२ वर्षीय लता मंगेशकर गत हप्ता लक्षणसहित कोरोना सङ्क्रमित बनेकी थिइन् । त्यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर यूनिट (आईसीयू) मा राखेर उपचार सुरु गरिएको थियो ।
अस्पतालका एसोसिएट प्रोफेसर डा. प्रतीत समदानीले पीटीआईसँग भनेका छन्, ‘अहिले पनि वहाँको उपचार आईसीयूमा भइरहेको छ ।’ मंगेशकरकी भतिजी रचना शाहले बिहीबार उनको स्वास्थ्यमा सुधार भइरहेको बताउँदै मिडियालाई परिवारको निजी मामिलालाई सम्मान गर्न अनुरोध गरेकी थिइन् ।
भारत रत्न र दादा साहेब फाल्के जस्ता सम्मान हासिल गरेकी मंगेशकर भारतीय सिनेमाको सर्वश्रेष्ठ गायिका मानिन्छन् । उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा १९४२ मा गरेकी थिइन् । उनले भारतका विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।
Facebook Comments