पति विदेशमा हुँदा तीन सन्तानकी आमाले बिहे गर्न परपुरुषलाई दबाब दिएपछि हत्या !

काठमाडौँ – अवैध सम्बन्ध लुकाउन महिलाको हत्या गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गएको पुस २३ गते बरहथवा नगरपालिका १० कटानीको उखुबारीमा स्थानीय ३२ वर्षीया सावित्री देवी रामको शव फेला परेको थियो।

सावित्रीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले हरिवन नगरपालिका–१०, ताइवान टोल बस्ने २७ वर्षीय सन्तोष साह, सोही ठाउँका २७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बरहथवाले शनिबार पत्रकार सम्मेलन गरेर आरोपीहरुलाई सार्वजनिक गरेको हो। मृतक महिलाका पति सुरत माझी दुई वर्षदेखि रोजगारीको शिलशिलामा कतारमा छन्।

पक्राउ परेकाहरुले पुस १७ राति सावित्रीको हत्या गरेका प्रहरी अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमाशंकर यादवले जानकारी दिए।

घटनाका मुख्य योजनाकार सन्तोष साहले महिलालाई घरबाट ल्याएर उखुबारीमा साथीहरूसँग मिलेर हत्या गरेका प्रहरीको दाबी छ। मृतक महिला र सन्तोषबीच जग्गा किन्ने सिलसिलामा चिनजान भएको थियो । सोही चिनजानपछि उनीहरुबीच अवैध सम्बन्ध सुरु भएको प्रहरीले जनाएको छ।

मृतक महिला र सन्तोष दुवै विवाहित हुन्। महिलाले आफूसँग बिहे गर्न वा गाउँबाट भगाउन सन्तोषलाई दबाब दिएपछि सन्तोषले महिलाको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।

मृतक महिलाका तीन सन्तान छन्। सन्तोषको भने केही समय पहिला मात्र विवाह भएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.