आइएमएफले नेपाललाई ४६ अर्ब निर्ब्याजी ऋण दिने

काठमार्डाैं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई ४६ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण दिने भएको छ । आइएमएफले इन्ह्यान्स्ड क्रेडिट फ्यासिलिटी (इसिएफ)मार्फत नेपालका लागि २८२.४२ मिलियन एसडिआर (३९५.९ मिलियन अमेरिकी डलर)बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । आइएमएफले दिने यो ऋण शून्य ब्याजदरको हुनेछ ।

उक्त ऋण सहायतामध्ये एक सय १० मिलियन अमेरिकी डलरबराबर रकम तत्काल पहिलो किस्तामा प्राप्त हुनेछ । बाँकी रकम विभिन्न किस्तामा क्रमशः प्राप्त हुने अर्थ मन्त्रालयले जनाएको छ । उक्त सहायताले कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभाव कम गर्न, विपन्न वर्गलाई संरक्षण गर्न, समष्टिगत आर्थिक तथा वित्तीय स्थिरता कायम गर्न र दिगो विकास तथा गरिबी निवारणसम्बन्धी नेपालले लिएको सुधारका प्रयासलाई निरन्तरता दिन सहयोग गर्ने अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने उक्त सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा बजेटमा समावेश गरी खर्च गर्न सकिनेछ । उक्त कोषसँग भएको प्रारम्भिक छलफलका आधारमा चालू आवको बजेटमा समेत उक्त स्रोत कायम गरिएको मन्त्रालयले जनाएको छ ।

‘कोभिडका कारण उत्पन्न असहज परिस्थितिलाई सामना गर्न नेपाल सरकारले अख्तियार गरेको नीति र प्रयासको अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्डका कार्यकारी निर्देशकहरूले उच्च प्रशंसा गर्दै परिपूरकका रूपमा उक्त सहयोग प्रदान गरेको जानकारी गराएका छन्,’ अर्थ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments