काठमाडौं। पेट्रोलियम पदार्थको मुल्यवृद्धि र दशैं तिहार जस्ता चाडबाडका कारण महंगिएको हवाई भाडा पछिल्लो ३/४ महिना यताकै सबैभन्दा सस्तो भएको छ ।
अहिले हवाई भाडादर कतिपय ठाउँमा बस भाडाकै हाराहारीमा आएको छ भने सिमरा, जनकपुर लगायतका ठाउँमा त बसभाडा भन्दा पनि सस्तो भएको छ ।
शुक्रवार बिहान लिएको भाडादर अनुसार शनिवारका लागि सिमरा-काठमाडौं हवाई भाडा १ हजार ६९५ रुपैयाँ मात्रै छ । जनकपुर-काठमाडौं १ हजार ७५० रुपैयाँ, पोखरा-काठमाडौं १ हजार ९९५ रुपैयाँ, चितवनबाट २ हजार ४०० रुपैयाँ मात्रै रहेको छ ।
त्यस्तै भैरहवाबाट काठमाडौं २ हजार ४९५ रुपैयाँ, भद्रपुरबाट २ हजार ६०० रुपैयाँ, विराटनगरबाट २ हजार ८०० रुपैयाँ, धनगढीबाट ३ हजार ४०० रुपैयाँ र नेपालगञ्जबाट ३ हजार ३९५ रुपैयाँ रहेको छ। बिहीवार ६ हजार ५०० रुपैयाँ रहेको सुर्खेत-काठमाडौं हवाई भाडादर भने शुक्रवार ७ हजार ५०० रुपैयाँ सम्म रहेको छ ।
किन सस्तीयो हवाई भाडा ?
पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण विदेशी पर्यटकको आगमन प्रभावित भएको छ ।
आन्तरिक उडानमा पनि ठूलो हिस्सा ओगट्ने पर्यटक नभएपछि पर्यटकीय क्षेत्रका गन्तव्यमा हवाई भाडा निकै नै सस्तो भएको एयरलाइन्स कम्पनीहरुले बताएका छन् ।
विदेशी पर्यटक नहुँदा नेपालीहरुले मात्रै महँगो भाडादरमा यात्रा नगर्ने भएपछि कम्पनीहरुले बस भाडाकै मूल्यमा जहाज भाडा लिएर उडान भर्न थालेका हुन् ।
आन्तरिक उडान गर्दै आएका बुद्ध, श्री, यति, सौर्य, गुण लगायतका एयरलाइन्स कम्पनीहरुले सार्वजनिक गरेको भाडादर सामान्य समयको भन्दा पनि कम रहेको छ ।
बसमा दुई दिन यात्रा गर्दा ३ हजार, प्लेनमा ३४००
हाल धनगढी-काठमाण्डौ चल्ने एसी बसको भाडा २ हजार ३५० रुपैयाँ छ । त्यहि रुटमा हवाई भाडा भने ३ हजार ४०० रुपैयाँ मात्रै छ ।
बसमा यात्रा गर्दा दुई दिन समय लाग्नुका साथै खाना र खाजा खाँदा ३ हजार देखि ३५०० कै हाराहारीमा खर्च भइहाल्छ । १ घण्टाको हवाई यात्रा पनि ३५०० रुपैयाँ भन्दा सस्तो भएपछि यात्रुहरुको रोजाइ हवाई यात्रा नै हुने एयरलाइन्स कम्पनीको अपेक्षा हो ।
त्यस्तै जनकपुर-काठमाण्डौ बस भाडा १ हजार २०० रुपैयाँ छ भने, हवाई भाडा मात्र १ हजार ७५० रुपैयाँ रहेको छ। यो रुटमा त बसमा यात्रा गर्दा हुने खाना र खाजाको खर्च जोड्दा हवाई यात्रा नै सस्तो हुने देखिन्छ ।
अफ सिजन र कोभिडका कारण घट्यो हवाई भाडा
यती एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौला यतिबेला वायुसेवा कम्पनीका लागि अफसिजन चलिरहेको बताउँछन् ।
अफसिजनमा यसैपनि यात्रुको चाप कम हुँदा भाडा घट्छ। यतिबेला त कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पनि सँगसँगै फैलिएकाले पर्यटक नै छैनन्। त्यसकारण हवाई भाडा निकै कम मूल्यमा आएको उनले बताए ।
अहिले धेरैजसो वायुसेवा कम्पनीले ठूला ठूला जहाजबाट मात्रै उडान गरिरहेकाले पनि भाडादर घटेको बर्तौलाले बताए ।
ठूला जहाजले उडान भर्दा अपरेटिङ कस्ट (सञ्चालन खर्च) समेत कम हुने हुनाले पनि भाडा दर सस्तियको उनको भनाई छ ।
सर्भाइभ हुन भाडादर कटौती, ९० प्रतिशत सम्म अकुपेन्सी
कोभिडको कारण बिगतमा लामो समय थला परेका एयरलाईन्स कम्पनीहरुले नाफा भन्दा पनि सर्भाइभ हुन जोड दिएकोले भाडादर कम घटाएको एयरलाईन्स कम्पनीहरुले बताएका छन् ।
कोभिडको कारण विदेशी पर्यटकको चाप नभएको र यतिबेला सास्कृतिक कार्यक्रम पनि कम हुने हुँदा नेपाली यात्रु समेत कम भएकोले हवाई भाडा घटेको बुद्ध एयरका कम्युनीकेसन मेनेजर दीपेन्द्र कर्णले आर्थिक अभियानलाई बताए ।
हाल बसकै भाडादर सरह हवाई भाडादर घट्दा नेपाली पर्यटकबाटै करिव ९० प्रतिशत सम्म अकुपेन्सीमा हवाई उडान गरिरहेको कर्णले बताए ।
हाल अन्तरप्रदेश हवाई उडान गरिरहको बुद्ध एयरले पोखरा देखि सिमरा, धनगढी लगायतका स्थानमा समेत ९० प्रतिशतकै हाराहारी अकुपेन्सीमा दैनिक तथा साप्ताहिक उडान गरिरहेको पनि उनले जानकारी दिए ।
Facebook Comments