४ लेनको बन्दै गरेका १२ सडकको यस्तो छ प्रगति

काठमाडौं । नेपालमा साँघुरा र निकै जोखिमयुक्त सडकका कारण वर्षेनि गाडी दुर्घटना हुँदा सयौँले ज्यान गुमाउने गरेका छन्। बढ्दो सवारी चापका कारण हुने जामले ढुवानी लागत र फ्युल खर्च समेत बढाएको छ ।

बजेट अभाव, दीर्घकालीन योजनाको अभाव, जग्गा अभाव, भौगोलिक कठिनाइन लगायत कारणले सडक बन्ने बेलामै साघुँरा बनाइने गरेको पाइन्छ । ठेकेदारको लापरवाहीले गुणस्तर र मापदण्ड नभएका सडकहरु पनि उत्तिकै छन् ।

तर, पछिल्लो केही वर्ष यता भने सडकले आफ्नो रुप फेर्दै गरेको देखिन्छ । पछिल्लो समय बनेका फस्टट्रयाक, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग लगायत सडक सुरुमै कम्तीमा दुई लेनका बन्न थालेका छन् । त्यस्तै, सरकारले रणनीतिक महत्वका सडक योजना अन्तर्गत देशका विभिन्न सडक ४ र ६ लेनमा विस्तार गरिरहेको छ ।

जस अन्तर्गत हाल पूर्वपश्चिम राजमार्गको पूरै खण्ड ४ र ६ लेनमा विस्तार हुने क्रममा रहेको छ । अहिले ३ खण्डमा काम हुँदै छ । जस अन्तर्गत नारायणगढ–बुटवल, कमला–ढल्केवर–पथलैया, कमला–कन्चनपुर–ढल्केवर खण्डा विभिन्न काम भइरहेको छन् ।

झण्डै ५ वटा खण्डमा सडक विस्तारका कार्यहरु सम्पन्न हुने चरणमा रहेको सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार मोहना–अत्तरिया, बुटवल–बेलीया, धरान–इटहरी–रानी, पत्लैया–विरगञ्ज, काँकडभिट्टा–इँटहरी लगायतका खण्डमा ४ देखि ६ लेनका सडक निर्माण सम्पन्न हुने चरणमा रहेको छ ।

कुन सकडको कति भयो काम ?

नारायणगढ-बुटवल सडक
११३ किलोमिटर लम्बाइ रहेको नारायण्णगढ–बुटवल सडक ४ लेनमा विस्तार हुँदै गरेको यो आयोजना २०२२ अगस्टसम्म सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले काम गरिरहेको छ ।

बुटवल–नारायणगढ सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । उक्त सडकको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई पूर्वी खण्डको रुपमा निर्माण गरिँदैै छ । दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई पश्चिम खण्डको रुपमा निर्माण गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडलाई ठेक्का दिइएको थियो ।

नारायणगढ–बुटवल खण्डमा शहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ । यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको थियो । राष्ट्रिय राजमार्गमध्ये बढी सवारी चाप रहेको पूर्वपश्चिम राजमार्गको सो खण्डमा अहिलेसम्म न्यून मात्रै भौतिक प्रगति छ ।

विजुलीका पोल, रुख कटान, लगायतका संरचनाका कारण गति लिन नसकेको नारायणगढ –बुटवल खण्डमा पछिल्लो समय कोभिडले समेत असर गरेको थियो । सुरुमा सडकको दायाँबायाँ थप्ने काम भइरहेको विभागका प्रवक्ता नेपालले सडक भत्काएर काम गरेको र धेरै संरचना हटाइए पनि अझै केही हटाउन बाँकी रहेको बताए ।

यस सडकमा चालु आवमा ३९ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । चालु आवको पहिलो त्रैमासिकमा १८ पुल सम्पन्न गर्ने लक्ष्य रहे पनि सो अनुसार काम हुन सकेको छैन । सडक विभागका अनुसार सो मध्ये १२ वटा पुल सम्पन्न हुने क्रमा रहेका छन् । ६ वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् ।

विसं २०७५ चैतमा सो सडकको विस्तार सुरु भएको थियो । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग सहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुङ्गा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ ।

कमला–ढल्केवर–पथलैया सडक : यस सडक खण्डको डीपीआर निर्माण काम भइरहेको छ । डीपीआरपछि विश्व बैंकको सहयोगमा यो खण्ड निर्माण हुने छ । कुल खर्च कति लाग्ने डीपीआर पछि थाहा हुने विभागको भनाइ छ । लगानी गर्ने सैद्धान्तिक सहमति भए पनि ऋणी सम्झौता नभएको विभागका प्रवक्ता नेपाल बताउँछन् । ‘यसका लागि समय लाग्छ, नेपाल सरकराले लगानी कति गर्ने विशव बैंकले कति ऋण दिन्छ त्यो तय हुनै बाँकी छ, उनले चाणक्य पोष्टसँग भने ।

कमलाबाट पथलैयासम्मसडक विस्तारको लागि विश्व बैंकले लगानी गर्न चासो दिएको छ । पथलैया–हेटौंडा–नारायणगढ सडक विस्तार गर्न एडीबी सकारात्मक रहेको सडक विभागले जनाएको छ । कञ्चनरुपदेखि झापाको काँकडभिट्टासम्माको सडक चार लेनको बनाउने योजना अन्तरगत डीपीआर बनाउने काम भइरहेको छ । आयोजनाको वातावरण तथा सामाजिक मूल्यांकन सन् २०२० जनवरीमा पूरा भइ रिपोर्ट तयार भएको थियो ।

मुग्लिङ–पोखरा सडक
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तार अघि बढेको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ । पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार ७५० रूख काट्नुपर्ने छ ।

६ अर्ब २१ करोड ३१ लाख रुपैयाँको लागतमा सो खण्डको ठेक्का सम्झौता भएको छ । तनहुँ खण्डमा रूख काट्न वन विभागबाट स्वीकृति पाइसकेको छ भने कास्की खण्डमा भने १ हजार २५० रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ ।

सडक विस्तारका लागि निर्माण कम्पनीले चीनबाट उपकरण ल्याएको छ । सडकखण्डको ८० किलोमिटरमध्ये म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ । वि.सं. २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।

सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ ।

हाल आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।

भदौ २७ गते निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि आए पनि कामदार भने आइपुगेका छैनन् । नेपाल आएका प्रतिनिधिले अस्थायी कार्यालय खडा गरेका छन् । कार्यालय बनाउनलाई डिजाइन गर्ने, निर्माणस्थलको निरीक्षण, बीमा र पेस्की लिनका लागि कागजात तयार पार्ने काम प्रतिनिधिले गरिरहेका छन् । ७ अर्ब ४० करोड ४६ लाखको लागतमा यो प्याकेजको ठेक्का लागेको छ ।

नेपालगञ्ज–गुलरिया सडक
नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुरा बजार क्षेत्रमा १ हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउन थालिएको हो । यस आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डीपीआर तयार भइसकेको छ ।

धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले १३ करोड रुपैयाँ बजेट छुट्याइसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।

नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगञ्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म चार लेन सडक बनाउन लागिएको हो ।

नेपालगञ्जबाट मैनापोखरसम्मको सडकखण्डमा चार लेनको लागि आवश्यक पूर्वाधार निर्माण प्रक्रिया भइरहेको छ । नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण भइरहेको छ । बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने काम भइरहेको छ । सँगसँगै नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्मको डीपीआर तयार गरी चार लेन सडक विस्तारको कार्य सुरु भइरहेको छ ।

धनगढी-अत्तरिया सडक

यो खण्डमा लकभग सबै काम सम्पन्न भइसकेको सडक विभागले जनाएको छ । फिनिसिङ, लेन, रेलिङ लगायतका काम बाँकी रहेको छ । ६ लेन सडक निर्माण कार्य पूरा हुन लाग्दा धनगढीदेखि अत्तरिया चोकसम्म पुग्न अब सवारी साधनमार्फत १०/१५ मिनेट मात्र लाग्न थालको छ । यसअघि धनगढीदेखि अत्तरिया पुग्न सवारी साधनबाट आदा घण्टाभन्दा बढी समय लाग्ने गर्थ्यो । हाल उक्त खण्डमा फिनिसिङको मात्र काम बाँकी रहेको सडक विभागले जनाएको छ ।

धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको १४.२ किलोमिटर लामो निर्माणाधीन सडक ६ लेनमा बन्दैछ । सरकारको प्राथमिकता प्राप्त यो सडक आयोजना निर्माण कार्यको भौतिक प्रगति हालसम्म ९५ प्रतिशत हाराहारी पूरा भइसकेको छ ।

मोहनादेखि अत्तरियासम्म १३ किलोमिटर लम्बाइ रहेको यस खण्डको काम सम्पन्न भइसकेको छ । फिनिसिङको काम भइरहेको छ । यो आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । यो सडक निर्माणका लागि निर्माण कम्पनीसँग विसं २०७४ मा ठेक्का सम्झौता गरिएको थियो । विसं २०७६ सम्म यो सडक निर्माण पूरा गरिसक्नुपर्ने भए पनि विभिन्न अवरोधका कारण निर्माण अवधि पटकपटक थपिँदै गएको छ ।

यो सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न छन् । यो सडकको लागत अुनमान १ अर्ब ६८ करोडको रहेको छ ।

काँकडभिट्टा-इँटहरी सडक : यो सडक खण्ड निर्माणका लागि हाल सर्भे भइरहेको छ । उक्त खण्डको निर्माणका लागि ऋण निर्धारण भइसकेको छैन । एशियाली विकास बैंकको ऋणमा उक्त सडक निर्माण गरिने छ । आयोजनाको वातावरण तथा सामाजिक मूल्यांकन सन् २०२० जनवरीमा पूरा भइ रिपोर्ट तयार भएको थियो ।

कमला–कञ्चनपुल सडक : यो खण्डमा ८४ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको छ । उक्त आयोजना चालु आर्थिक वर्षभित्र सक्ने लक्ष्य सडक विभागको रहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तरगत धनुषाको कमलादेखि सप्तरीको कञ्चनपुलसम्मको सडक चार लेनमा विस्तारको लागि ठेक्का लागेको छ । करिब १५ अर्बमा काम सक्ने गरी चिनियाँ कम्पनीले ठेक्का पाएको हो ।

चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीले यो सडक विस्तारका दुवै खण्डमा ठेक्का पाएको थियो । कमला–कञ्चनपुल सडकको बीचमा मेडियन (डिभाइडर संरचना) हुनेछ । दुईतर्फ ७–७ मिटरको दुई–दुई लेन हुनेछन् । एउटा लेन ३.५ मिटरको हुनेछ ।

बुटवल–बेलीया सडक : सम्पन्न हुने चरणमा चौराहादेखि गोलपाकको ३ किलोमिटर खण्डमा बाँकी छ । अन्य काम सबै सकिसकेको विभागले जनाएको छ ।

तीन वर्षमा सक्ने लक्ष्यसहित २०६८ सालमा सुरु भएको बुटवल–बेलहिया ६ लेन सडकको काम १० वर्षमा आइपुग्दा अझै ३ किलोमिटर सडक निर्माण बाँकी छ । यो खण्डमा छेउको सर्भिस लेनबाहेक बीचको चार लेन सडक निर्माण कार्य सकिएको छ । देशकै नमूना सडकको रुपमा निर्माणाधीन यो सडक २०७६ सालभित्रै निर्माण सम्पन्न हुने बताइएको थियो । विभिन्न कारण देखाउँदै उक्त आयोजना अझै सम्पन्न हुन सकेको छैन ।

धरान–इँटहरी (रानी) सडक : यो खण्डमा काम सकिन समय लाग्ने प्रवक्ता नेपाल बताउँछन् । आयोजना अन्तर्गत ३२ किलोमिटर सडक निर्माण काम सकिसकेको उनले जानकारी दिए । या खण्डमा केही काम सकिए पनि अझै काम सकिन समय लाग्ने उनले बताए ।

यो खण्डमा अलि समस्याहरु छन्, अन्य सबै आयोजनामा काम भए पनि यो खण्डमा काम सकिन अझै समय लाग्छ, अलिअलि काम बच्छ होला, नेपालले भने । रानी–विराटनगर–इँटहरी–धरान सडकलाई ६ लेन बनाउन विभिन्न खण्डमा निर्माण कार्य भइरहँदा इँटहरीको मुख्य चोक क्षेत्रमा भने विवादका कारण काम रोकिएको थियो ।

स्थानीयवासीहरूले सडकलाई ६ लेन बनाउँदा मुख्य बजार क्षेत्रमा रहेका धेरै घरहरू भत्किने भन्दै विरोध गरेपछि निर्माण कार्य हुन सकिरहेको थिएन ।

पथलैया वीरगञ्ज सडक : यस आयोजना अन्तर्गत वस्तीहरुमा विवाद बाँकी नै रहेका कारण ठाउँ ठाउँमा सडक विस्तारको काम बाँकी रहेको विभागले जनाएको छ ।

ढल्केबर–जनकपुर सडक : यस आयोजनाको काम लगभग सम्पन्न भइसकेको विभागले जनाएको छ । आयोजना अन्तर्गत हाल पुलहरु मात्र निमाण गर्न बाँकी रहेका छन् । जनकपुरको वस्तीमा बिजुलीको पोल, खानेपानी हटाउन नसक्दा काम बाँकी रहेको हो । अरु सम्पन्न भइसकेको छ ।

जनकपुरलाई पूर्वपश्चिम राजमार्गदेखि भारतको जटही नाकासम्म जोड्ने ४० किलोमिटर व्यापारिक मार्गको रुपमा निर्माण भइरहेको छ । ७ अर्ब ५० करोड रुपैयाँ लागत अनुमानमा निर्माण भइरहेको जटही–जनकपुर–ढल्केवर ६ लेनको बनाइँदै छ ।

Facebook Comments