राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा : लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन्। अध्यक्ष लिङदेनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याए। स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे।

अध्यक्ष लिङदेनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको तर्क गरे। उनले राजा वीरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौंता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको पनि बताए। उनले स्वर्गीय राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उल्लेख गरे।

अध्यक्ष लिङदेनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढी देशभक्त हुन्छन भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेको पनि बताए। कार्यक्रममा पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकीर गरे। उनले स्वर्गीय राजा वीरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गरे।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.