सामूहिक बलात्कार प्रकरण : विदेश जना तयार ९ युवा यसरी परे प्रहरीकाे फन्दामा

काठमाडाैँ – काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरमा सामूहिक बलात्कारमा संलग्न विदेश जना तयार ९ जना युवा प्रहरीकाे फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा, अर्घाखाँची घर भएका गोपालकुमार श्रीस, मुगुका हस्त नेपाली र चन्द्र साउद छन् ।

बलात्कारमा संलग्न सबै आरोपी वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीले बताए ।

उनका अनुसार पीडित सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी ३३ वर्षीया युवती हुन् । उनका श्रीमान् धेरै पहिलेदेखि बेपत्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरुले उनलाई फकाएर होटलमा लगेर सोमबार साँझदेखि मंगलबारसम्म जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेपछि प्रहरीले कारवाही प्रक्रिया अघि बढाएकाे थियाे ।

प्रहरीका अनुसार युवराजले सुरुमा युवतीलाई फकाएर गेस्ट हाउसमा लगेर बलात्कार गरेका थिए । त्यसपछि विभिन्न व्यक्तिले जबर्जस्ती करणी गरेका थिए । अनुसन्धान गर्दै जानेक्रममा सीसी टीभी फुटेज र प्राविधिक विश्लेषण गरेर घटनामा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments