नेपाल एयरलाइन्सका दुई विमान एकाएक ग्राउन्डेड, सयौँ यात्रु अलपत्र

काठमाडौँ : नेपाल वायुसेवा निगमका दुई वटा विमान एकाएक ग्राउण्डेड भएका छन् । काठमाडौँबाट जापानको नारिता उड्न लागेको वाइडबडी विमान र कतारको दोहाबाट दुबई हुँदै काठमाडौँ आउन लागेको न्यारोबडी विमान ग्राउण्डेड भएका हुन् ।

नारिता उड्न लागेको वाइडबडी विमान ‘इलेक्ट्रिक’ समस्याका कारण काठमाडौँमै रोकिएको छ भने दुबई हुँदै काठमाडौँ आउन लागेको न्यारोबडी विमान दोहामै ग्राउण्डेड भएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जापानको नारिता उड्न लागेको नाइन एन ए वाई वाइडबडी जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउण्डेड भएको स्रोतले जनाएको छ । यस्तै दोहाबाट काठमाडौँ आउन लागेको नाइन एन वाई के न्यारोबडीमा पनि प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको हो ।

दुवै जहाज उड्ने तरखरमा रहेका बेला प्राविधिक समस्या देखिएपछि ग्राउण्डेड भएका नेपाल वायुसेवा निगम स्रोतले जनाएको छ । नारिता उड्न लागेका विमानमा ११० जना यात्रुले टिकट काटेर तयारी अवस्थामा रहँदा विमानमा प्राविधिक समस्या देखिएको हो ।

दोहाबाट काठमाडौँ आउन लागेको न्यारोबडीमा १९० जना यात्रुले बोर्डिङ पास लिइसकेका स्रोतले जनाएको छ । तर जहाजमा प्राविधिक समस्या देखिएपछि उनीहरुलाई विमानस्थलबाट होटलमा फर्काइएको छ ।

मंगलबार बिहान मात्रै १५० जना यात्रु लिएर न्यारोबडी काठमाडौँबाट दोहामा अवतरण भएको थियो । तर विमानमा समस्या देखिएपछि बोर्डिङ पास लिइसकेका यात्रुलाई होटलमा राख्नुपर्दा निगमलाई आर्थिक भार थपिएको छ ।

Facebook Comments