निर्वाचनका लागि ९९ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने, नेपाल प्रहरीले माग्यो १४ अर्ब बजेट

निर्वाचनको तयारीका लागि नेपाल प्रहरीले १४ सय गाडी मागेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुले निर्वाचनका लागि आवश्यक स्रोत साधनको अनुमान बताएका थिए ।

प्रहरीले निर्वाचनका लागि हतियारदेखि गाडीसम्म माग गरेको छ । प्रहरी प्रधान कार्यालयले साना र ठूला गरी १४ सय थप गाडी आवश्यक हुने जनाएको छ । यीमध्ये केही गाडीहरु भाडामा लिन सकिने भएपनि अधिकांश किन्नुपर्ने बताईएको छ ।

जुनसुकै तहको भएपनि एकै चरणमा निर्वाचन गर्दा ७ हजार सुरक्षाकर्मीको अभाव हुने प्रहरीको विवरण छ । नेपाल प्रहरीले ९९ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने पनि जनाएको छ । तर, कम्तीमा १ हप्ताको फरक राखेर २ चरणमा निर्वाचन गर्ने हो भने अहिलेकै जनशक्ति पर्याप्त हुने र म्यादी प्रहरी पनि थोरै भर्ना गर्दा पुग्ने प्रहरीले बुझाएको विवरणमा छ ।

प्रहरीले गरेको प्रस्तावमा म्यादी प्रहरी भर्ना लगायतका व्यवस्थापनका लागि १४ अर्ब बजेट आवश्यक देखिएको छ ।

बैठकमा संघीय मामलामन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थसचिव मधु मरासिनी, संघीय मामलासचिव सुरेश अधिकारी, परराष्ट्रसचिव भरत शर्मा पौड्याल, सेनाका रथी बालकृष्ण कार्की, सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापालगायतको सहभागिता थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.