वडाध्यक्षसहित १२ जना पक्राउ

जाजरकोट । शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको शव फेला परेको छ । अझै चार जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको लाश फेला परेको छ ।

सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।

घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिनुभयो । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गर्नुभयो । उन्ले भने, “हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यिनीहरु कुटाइ नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन् ।”

उन्ले आफूहरुलाई बेसरी गाली गर्न थालेपछि फर्किएको बताउँदै भने,‘‘फर्किइसकेपछि गाउँलेहरु ढुङ्गामुढा गर्दै लखेट्दै आएपछि हामी भाग्यौँ । कोही कता कोही कता भयौँ । कतिजना भेरी नदीमा हाम्फाल्यौँ ।” करिब चार किलोमिटरभन्दा बढीको दूरीसम्म लखेटेको प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिइन ।

भेरी नगरपालिकाबाट १९ युवा नवराजकी प्रेमिका १७ वर्षीया युवतीलाई भगाउन भनी गएका थिए । तीमध्ये १२ जना घाइते छन् । जिल्ला अस्पतालमा राखिएको शव परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.