पीडितले क्षतिपूर्ति पाउने

दाङ । दाङका गरिमा धान पीडित किसानले क्षतिपूर्ति पाउने भएका छन् । गत वर्ष गरिमा धान रोगले सखाप भएपछि किसानले पटकपटक क्षतिपूर्तिको माग गर्दै आएका थिए । सोहीअनुसार दाङ देउखुरीका २७७ किसानले क्षतिपूर्ति पाउने भएका हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानको क्षतिपूर्तिका लागि १५ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेर लमही नगरपालिकालाई परिपत्र गरेको छ । अबको केही दिनभित्र उनीहरुलाई वितरण गरिने नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीले बताए ।

गरिमा धान लगाउने किसानलाई प्रतिकिलो एक हजार ३१५ रुपैयाँका दरले क्षतिपूर्ति प्रदान गरिने उनको भनाइ छ । पीडितका लागि पठाइएको रकम सम्बन्धित वडा कार्यालय मार्फत वितरण गरिनेछ ।

उत्पादन राम्रो हुने र नेपालको हावापानीमा उपयुक्त भएको जनाउँदै किसानले सो बीउ लगाए पनि फल्ने समयमा समस्या देखिएको थियो ।

क्षतिपूर्ति नपाएको जनाउँदै किसानले लमही नगरपालिका वडा नम्बर ३ स्थित टिकुलीगढमा सञ्चालित सनराइज एग्रिकल्चर प्रालिमा तालाबन्दीसमेत गरेका थिए ।

उक्त प्रालिले गत वर्ष वैशाख र जेठमा प्रतिकिलो २६० रुपैयाँका दरले चार एग्रोभेट सेन्टरलाई बिक्री गरेको थियो । प्रालिले भारतको हैदरावादबाट ३४ हजार किलो धान खरीद गरी २२ हजार किलो बिक्री गरेको थियो । रासस

Facebook Comments