सप्तरी ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेगरी बोलाइएको विशेष अधिवेशन सुरु हुने दिन नै राजीनामा दिएपछि अब त्यहाँ कसको नेतृत्वमा सरकार बन्ला भन्ने चर्चा सुरु भएको छ।
नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसमाथि छलफलका लागि आइतवार प्रदेशसभाको विशेष अधिवेशन अधिवेशन बोलाइएको थियो । तर मुख्यमन्त्रीले सो अधिवेशनको सामना गर्न चाहेनन्।
विशेष अधिवेशनअघि नै उनले राजीनामा दिएको विषयलाई विभिन्न ढङ्गले व्याख्या गरिएको पाइन्छ।
प्रदेशसभामा कस्तो समीकरण ?
तर एमालेभित्रै विभाजन देखिएको अवस्थामा अहिले पोखरेल आफ्नै पार्टीका सबै सांसदसँग ढुक्क हुने अवस्था नरहेको देखिन्छ। लुम्बिनी प्रदेशसभामा अहिले कायम रहेका सदस्यहरूको कुल सङ्ख्या ८१ छ।
तीमध्ये नेकपा एमालेका ४१ जना छन्। त्यो भनेको संसद्मा कायम सदस्यका आधारमा बहुमत सङ्ख्या हो। तर माधव नेपालपक्षीय सांसदहरूबाट ‘फ्लोर क्रस’ गर्ने सम्भावनाका कारण पोखरेल आफ्नै सांसदहरूसँग ढुक्क नभएको देखिन्छ। कर्णाली प्रदेशमा एमालेका केही सांसदले पार्टी निर्णयविरुद्ध माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेका थिए।
किन दिए राजीनामा ?
प्रदेशसभामा माधव नेपाल पक्षका दुई सांसद छन्। यदि उनीहरूले कर्णाली प्रदेशमा जस्तो पार्टीको निर्णय उल्लङ्घन गरेको खण्डमा एमालको नेतृत्वमा सरकार बन्ने अवस्था रहँदैन । त्यसैले उनले राजीनामाको बाटो रोजेको आकलन गरिएको छ।
जसपाले पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै मन्त्री बनाइएका पार्टीका चार सांसदलाई उक्त पदबाट हटाइदिएपछि उनीहरू अदालत जाने प्रक्रियामा छन्।
कोभिड-१९ महामारीका कारण सर्वोच्च अदालतले शुक्रवार उनीहरूको निवेदन नलिए पनि कुनै दिन निवेदन दर्ता हुने र अन्तरिम आदेश दिने सम्भावना रहने एकथरीको विश्वास छ।
तर त्यो प्रक्रिया तत्कालै सुरु हुने सम्मावना कम देखिएकाले अदालतको फैसला पर्खिन पनि हाललाई अविश्वासको प्रस्ताव टार्ने निर्णय पोखरेलले गरेको पनि विश्लेषण गरिएको छ।
जसपाका चार सांसदको पक्षमा अदालतले निर्णय दियो भने पोखरेलको पक्षमा स्वतस् बहुमत पुग्छ। पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार नयाँ सरकार बनाउने बाटो खुलाउन राजीनामा दिएको कतिपय उनी निकटहरूले बताएका छन्। उक्त उपधारामा प्रदेशसभामा बहुमतप्राप्त दलको नेता मुख्यमन्त्री बन्ने व्यवस्था छ ।-बीबीसी












Facebook Comments