जाजरकोटमा आगलागी, पाँच घर जलेर नष्ट

जाजरकोट । नलगाड नगरपालिका-८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

स्थानीय नौँधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभुत विद्यालयका शिक्षक मनोद शर्माले जानकारी दिए ।

उनका अनुसार अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर जलेका हो । घरभित्र रहेका लत्ताकपडा र पशुचौपाया समेत जलेका छन् ।

शुक्रबार राति भएको सो घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ ।

नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो ।-रासस

Facebook Comments