‘राजनीतिक स्वार्थ पूर्तिका लागि पशुपतिनाथलाई उपयोग गरियो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताएका छन् ।

आइतबार नेकपा प्रचण्ड–नेपाल केन्द्रीय संघर्ष समितिको थप आन्दोलन घोषणा कार्यक्रममा प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरुको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकीर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरिएको बताए ।

पशुपतिनाथ विश्वभरीका हिन्दुहरुको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफूहरुले सम्मान गर्ने उनको भनाइ थियो । यस्तो संवेदनशील पक्षलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग नगर्न पनि उनले सम्बन्धित पक्षलाई अनुरोध गरे ।

प्रवक्ता श्रेष्ठले आफूहरु सडक संघर्षमा मात्रै नभई कानूनी मोर्चामा पनि संघर्ष गरिरहेको बताए । सरकारले निर्वाचन गराउनको निम्ति निर्वाचन मिति घोषणा गरेको होइन भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको उनको भनाइ थियो ।

Facebook Comments