काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधिसभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी युनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
युनियनले सरकारको कदम नसच्चिँदासम्म आन्दोलनलाई निरन्तरता दिने र सम्पूर्ण विद्यार्थीहरुलाई सहभागिता जनाउन अपिलसमेत गरेको छ। माघ १६ गते सहिद पार्कमा श्रद्धाञ्जली सभा गर्ने, माघ १८ र १९ गते स्थानीय तहको सरकारलाई ज्ञापनपत्र पेश गर्ने, माघ २९ गते सुरक्षा प्रमुख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, मन्त्रीहरूलाई सार्वजनिक बहिस्कार गर्ने, मान्त्रीहरूका गाडी चल्न नदिने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।
यस्तै, माघ २१ गते सबै क्याम्पसअगाडि कालो झण्डासहित ३० मिनेट चक्काजाम गर्ने, माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारीसाधनहरू निषेध गर्ने र युवामार्च गर्ने, माघ २५ गते प्रधानमन्त्री ओलीलाई विरोधपत्र बुझाउनेलगायत कार्यक्रम पनि सार्वजनिक गरेको छ। यस्तै, कोभिडविरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई प्राथमिकतामा राखी शैक्षिक संस्था सुचारु गर्नुपर्नेलगायत माग पनि युनियनले राखेको छ।
लिपुलेक, लिम्पयाधुरा सहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सूचारु गर्न दावावमुलक कार्यक्रम गर्ने, कोभिडका कारणले समस्यामा परेका विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण गराउन दबाब दिने, अहिलेसम्मको शुल्क मिनाह गर्न र लिएको शुल्क फर्ता गर्न दावव दिने, शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्ने लगायतका माग राखेर विरोध प्रदर्शन घोषणासमेत गरेको छ।
Facebook Comments