राष्ट्रिय एकता दिवस विकास समिति बनाउने तयारी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नुवाकोट क्षेत्रका देवीघाट, चिम्टेश्वर र दरबार संरक्षण र प्रवद्र्धन गर्ने बताउनुभएको छ ।

मन्त्री ढकालले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको कदरस्वरूप ऐतिहासिक तथ्यको खोजी, संरक्षण र विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न उक्त क्षेत्रका लागि विकास समिति गठनको प्रक्रिया अगाडि बढाइएको समेत जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले आइतबार राजधानीमा आयोजना गरेको ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार गोष्ठीमा मन्त्री ढकालले यस्तो जानकारी दिनुभएको हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा प्रतिष्ठानले सो विचार गोष्ठी आयोजना गरेको हो ।
उहाँले पृथ्वीनारायण शाहलाई ‘गर्व गर्न लायक अभिभावक’का रूपमा चर्चा गर्नुहुँदै राष्ट्र अखण्ड र अक्षुण्ण हुन्छ भन्ने त्यो बेलाको चेतना आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

उहाँले सहमतिको आधारमा राजतन्त्रको बिदाइ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको सन्दर्भमा नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानलाई नेपाल र नेपालीले सदासर्वदा सम्झिरहने बताउनुभयो ।

मन्त्री ढकालले धर्म, संस्कृति र परम्पराको बर्खिलापमा संविधान नरहेको एवं बलजफ्ती धर्म परिवर्तन गर्ने कार्य दण्डनीय भएको स्पष्ट पार्नुभयो । कार्यक्रममा प्रा।डा। टेकबहादुर श्रेष्ठले ‘पृथ्वीनारायण शाहको एकीकरण अभियानः सङ्क्षिप्त चर्चा’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै पृथ्वीनारायणले एकीकरण थालेको र जीवनको आखिर दिन बिताएको नुवाकोटमा समाधिस्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको भू–राजनीति र मुलुकभित्रको बहुलताका विषयमा पृथ्वीनारायण शाहले स्पष्ट रूपमा दृष्टिकोण दिनुभएको बताउनुभयो । प्रतिष्ठानका उपकुलपति डा। जगमान गुरुङले मुलुकको राजनीतिक नेतृत्वले पृथ्वीनारायणको चरित्र विकास गर्न सके नेपालमा विदेशीको राजनीति हाबी नहुने बताउनुभयो ।

यसैबीच नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा २९९औँ पृथ्वी जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित एकहप्ते पुस्तक प्रदर्शनी आइतबारदेखि सुरु भएको छ । प्रतिष्ठानका सबै प्रकाशन १५ देखि ४० प्रतिशतसम्म छुटमा पुस्तक बिक्री भइरहेको जनाइएको छ । गाेरखा पत्र दैनिकबाट

Facebook Comments