प्रचण्ड-नेपाल पक्षकाे पकडमा कर्णाली प्रदेश सरकार

सुर्खेत । नेपाल कम्यृनिस्ट पार्टी (नेकपा) नेकपाको प्रचण्ड–माधव पक्षले कर्णाली प्रदेश सरकार आफ्नो पकड बढाएको छ ।

नेकपा राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित भएसँगै प्रदेश सरकारको स्थायित्वलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । कर्णाली प्रदेशसभाका कुल ४० सदस्यमध्ये नेकपाका ३३ जना सांसद छन् । केन्द्रमा आएको फुटसँगै कर्णाली प्रदेशसभामा रहेका नेकपाका ३३ सांसदमध्ये ‘प्रचण्ड-नेपाल’ पक्षमा १९ जना र ओली पक्षमा १४ जना थिए ।

ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकायाले खेमा परिवर्तन गरेपछि अब प्रचण्ड–माधव पक्षमा २२ जना सांसद पुगेका छन् ।

योसँगै मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको प्रदेश सरकारको स्थायित्वका लागि प्रदेशसभामा आवश्यक बहुमत पनि पुग्ने देखिएको छ ।

प्रतिनिधि सभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने छक्कबहादुर लामाले केहीदिन अघि खेमा परिवर्तन गरेका थिए । ‘प्रचण्ड–नेपाल’ खेमाका उनले नेकपामा आएको तरङ्ग पश्चात ओली खेमातर्फ झुकाव राखेका थिए । तर केही दिनमै उनी पुनः प्रचण्ड–नेपाल खेमामै फर्किए ।

Facebook Comments