कतारमाथिको नाकाबन्दी हटाइएकोमा नेपालद्वारा स्वागत

काठमाडौं । साउदी अरेबले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कतारमाथिको नाकाबन्दी हटाउने निर्णयको स्वागत गरेको हो ।

कतारमाथि खाडी क्षेत्रको एक शक्तिशाली राष्ट्र साउदी अरेबियाले भूमि, हवाई र जल मार्गमा नाकाबन्दी लगाएको थियो । साउदी र उसनिकटका मुलुकहरूले कतारलाई असहयोग गरेपछि इरान, टर्कीजस्ता मुलुकहरूले साथ दिएका थिए ।

गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) को भेला सुरु हुनुअघि कतारमाथि लगाइएको नाकाबन्दीलाई हटाइने निर्णय गरिएको हो ।

जीसीसीमा कतार, साउदी अरेबिया, यूएई, कुवेत, बहराइन र ओमान सदस्य छन् । मन्त्रालयको विज्ञप्तिमा उक्त कदमले जीसीसीका सदस्य मुुलुकहरूबीच रहेको महत्त्वपूर्ण विषय हल गर्न र खाडी क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्ने उल्लेख छ ।

Facebook Comments