भारतका विभिन्‍न राज्यमा बर्ड फ्लुकाे संक्रमण

नयाँदिल्ली । भारतका विभिन्न पाँच राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको महामारीबाट थलिएकाे भारतमा बर्ड फ्लु एचफाइभ एन वान जातिको जीवाणुको कारण पंक्षीहरुमा लाग्ने रुघाखोकी जस्तो एक प्रकारको रोग हो । यो रोगबाट जंगली र घरपालुवा दुवैथरीका पंक्षीहरु संक्रमित हुने भए पनि विशेषगरी घरपालुवा पंक्षीहरुका लागि बढी घातक मानिन्छ । र, मानव स्वास्थ्यका लागि पनि यो भाइरस जोखिमयुक्त मानिन्छ ।

सोमबार मात्र हिमाचलको काँगडा जिल्लाअन्तर्गतको पोङ ड्याम ताल आरक्ष क्षेत्रमा मरेका अठार सयभन्दा बढी आप्रवासी हाँसमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको बताइएको छ । संक्रमण पुष्टि भएपछि आरक्ष प्रशासनले पर्यटकहरुसँगै स्थानीयहरुको प्रवेशमा रोक लगाएको छ ।

भारतीय अंग्रेजी दैनिक द इण्डियन एक्सप्रेसले आरक्षका प्रमुख संरक्षक अर्चना शर्मालाई उद्धृत गर्दै त्यहाँ मरेका चराहरुमध्ये नब्बे प्रतिशत आप्रवासी हाँस भएको जनाएको छ । बर्सेनि लाखको हाराहारीमा हाँसको यो प्रजाति हिमालय क्षेत्र पार गर्दै मध्य एसिया, रुस, मंगोलियालगायतका क्षेत्रबाट त्यहाँ आउने गरेको समेत उक्त पत्रिकाले लेखेको छ ।

Facebook Comments